

काठमाडौं- १७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा आरोप लागेकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आईभीएफ चिकित्सक डा. नुतन शर्मासँग प्रहरीले बयान लिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शर्मासँग गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा घटनासम्बन्धी बयान लिइएको हो। उनी त्यसअघि प्रहरी परिसरमा उपस्थित भएकी थिइन् र त्यसपछि सरकारी वकिलको कार्यालय लगिएको थियो।
बयानका क्रममा डा. शर्माले आफूले कानुनविपरीत कुनै काम नगरेको दाबी गरेकी छन्। घटनासँग सम्बन्धित सबै प्रक्रिया सम्बन्धित व्यक्तिको मञ्जुरीपछि मात्रै भएको उनको भनाइ रहेको प्रहरीले जनाएको छ।
बयान सकिएपछि सरकारी वकिल कार्यालयको निर्देशनमा उनलाई हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताएका छन्।
यसअघि उक्त प्रकरणमा आरोप लागेपछि डा. शर्मा विदेश गएकी थिइन्। नेपाल फर्किएपछि प्रहरीले उनीसँग बयान लिएको हो। प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति मागेको भए पनि अनुमति नपाएको जनाएको छ।
यसै प्रकरणमा राधिका गोतामेलाई पनि प्रहरीले पक्राउ गरेको थियो। गोतामेलाई समेत सरकारी वकिल कार्यालयको निर्देशनमा हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डा. शर्मा र गोतामेबीच आर्थिक कारोबार भएको प्रमाणसमेत फेला परेको थियो।
पीडित १७ वर्षीया किशोरीले आर्थिक प्रलोभन देखाएर आफ्नो डिम्ब झिकिएको आरोप लगाउँदै डा. शर्माविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।



