

काठमाडौँ- देशभर सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’को अभाव देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले थप औषधि खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। हाल मौज्दात रहेको औषधिले करिब ८५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने मन्त्रालयको अनुमान छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले देशभर हाल कुल १ हजार २६९ भाइल ‘एन्टी स्नेक भेनम’ मौज्दात रहेको जानकारी दिइन्।
उनका अनुसार केन्द्रीय स्टोरमा १३८ भाइल, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४ भाइल तथा देशभरका २२२ सर्पदंश उपचार केन्द्र र स्वास्थ्य कार्यालयमा ४६५ भाइल उपलब्ध छन्।
मन्त्री मेहताले अहिले मौज्दात रहेको औषधिले प्राविधिक रूपमा करिब ८५० जना बिरामीको उपचार गर्न सकिने बताइन्। माग बढिरहेका बेला औषधिको अभाव हुन नदिन स्वास्थ्य सेवा विभागमार्फत १३ हजार २०० भाइल ‘एन्टी स्नेक भेनम’ खरिद प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिइन्।
उनका अनुसार नयाँ खेप साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको छ। औषधि प्राप्त भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मार्फत देशभरका सबै सर्पदंश उपचार केन्द्रमा वितरण गरिनेछ।
मन्त्री मेहताले सर्पदंशका घटनामा समयमै उपचार अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सर्पले टोकेपछि घरेलु उपचारमा समय खर्च नगरी सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरिन्।



