

काठमाडौं – पुरुषमा इरेक्टाइल डिस्फङ्सन (यौन दुर्बलता) को उपचारका लागि प्रयोग हुने चर्चित औषधि भायाग्रा (सिल्डेनाफिल) ले क्यान्सर फैलिनबाट रोक्न सक्ने नयाँ जैविक संयन्त्र पत्ता लागेको इजरायली वैज्ञानिकहरूले बताएका छन्।
इजरायलको वाइजम्यान इन्स्टिच्युट अफ साइन्सका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार भायाग्राको सक्रिय तत्व सिल्डेनाफिल ले क्यान्सरका कोषिकालाई आवश्यक पर्ने कोलेस्ट्रोलको आपूर्ति अवरुद्ध गर्छ। कोलेस्ट्रोलको अभाव भएपछि क्यान्सरका कोषिकाले शरीरका अन्य अंगमा फैलिने (मेटास्टेसिस) क्षमता गुमाउने अनुसन्धानले देखाएको छ।
यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल क्यान्सर रिसर्चमा जुलाई महिनामा प्रकाशित भएको हो। अध्ययनमा मुसामा गरिएको परीक्षण, मानव क्यान्सर कोषिकामाथिको प्रयोग तथा इजरायलको राष्ट्रिय स्वास्थ्य सेवा प्रदायक क्लालिट हेल्थ सर्भिसका करिब ५० लाख सदस्यको २० वर्षको स्वास्थ्य तथ्यांक विश्लेषण गरिएको थियो।
अनुसन्धान टोलीका अनुसार क्यान्सर निदान हुनुभन्दा करिब छ महिनाअघि सिल्डेनाफिल र कोलेस्ट्रोल घटाउने स्टाटिन समूहका औषधि दुवै सेवन गरेका बिरामीमा बाँच्ने सम्भावना अन्यको तुलनामा बढी देखिएको छ।
प्रयोगशालामा गरिएको परीक्षण विशेषगरी ट्रिपल–नेगेटिभ स्तन क्यान्सर, मेलानोमा (छालाको क्यान्सर) र फोक्सोको क्यान्सरमा केन्द्रित थियो। साथै, वास्तविक बिरामीको तथ्यांकले फोक्सो, कोलोन र प्रोस्टेट क्यान्सरमा पनि समान परिणाम देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अनुसन्धानका प्रमुख प्राध्यापक आयेलेट एरेजका अनुसार सिल्डेनाफिलले पीडीई–५ (PDE5) नामक इन्जाइमलाई अवरुद्ध गर्छ। त्यसपछि बढ्ने साइक्लिक जीएमपी (cGMP) ले क्यान्सर कोषिकामा कोलेस्ट्रोल पुर्याउने प्रोटिनलाई निष्क्रिय बनाउँछ। परिणामस्वरूप क्यान्सर कोषिकाले अन्य अंगमा फैलिने क्षमता गुमाउँछन्।
यद्यपि, अनुसन्धानका क्रममा क्यान्सर कोषिकाले आफैं थप कोलेस्ट्रोल उत्पादन गर्न थालेको पनि देखियो। त्यसपछि अनुसन्धानकर्ताले स्टाटिन औषधि प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा थप घटेर क्यान्सर फैलिन अझ प्रभावकारी रूपमा रोकिएको पाइएको छ।
अनुसन्धानकर्ताहरूले अब ट्रिपल–नेगेटिभ स्तन क्यान्सर भएका महिलामा भायाग्राको क्लिनिकल परीक्षण सुरु गर्ने तयारी गरिरहेका छन्। उनीहरूका अनुसार प्रयोगशालामा प्राप्त नतिजालाई बिरामीमा पुष्टि गर्न क्लिनिकल परीक्षण आवश्यक छ।
क्यान्सर विशेषज्ञहरूले यो अध्ययनले क्यान्सर उपचारमा पहिलेदेखि प्रयोगमा रहेका औषधिलाई नयाँ उद्देश्यका लागि उपयोग गर्ने सम्भावना देखाएको बताएका छन्। यद्यपि, भायाग्रालाई क्यान्सर उपचारका लागि हालसम्म स्वीकृति प्राप्त नभएको र चिकित्सकको सल्लाहबिना यसको प्रयोग गर्न नहुने उनीहरूको चेतावनी छ।



