

काठमाडौं- आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ), संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) तथा विभिन्न देशका सरकार र नागरिक समाजका संस्थाहरूको सहकार्यमा प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ।
यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नाराका साथ सप्ताह मनाइँदै छ। अभियानले आमा र नवजात शिशुलाई स्वास्थ्य सेवा, समुदाय, कार्यस्थल र सरकारी नीतिमार्फत आवश्यक सहयोग उपलब्ध गराउँदै स्तनपान प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
डब्ल्युएचओका अनुसार स्तनपान शिशुको स्वास्थ्यका लागि सबैभन्दा सुरक्षित, सरल र प्रभावकारी उपायमध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण उपलब्ध गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, विभिन्न गम्भीर रोगबाट जोगाउने र मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर अझै पनि धेरै मुलुकमा आमाहरूले स्तनपानसम्बन्धी आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग सहज रूपमा प्राप्त गर्न सकेका छैनन्।
स्तनपानले शिशुमात्र होइन, आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण फाइदा पुर्याउने डब्ल्युएचओले जनाएको छ। नियमित स्तनपानले स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर तथा टाइप–२ मधुमेहजस्ता नसर्ने रोगको जोखिम कम गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा स्तनपान गराउने दरमा सुधार देखिएको छ। सन् २०१२ मा जन्मदेखि छ महिनासम्म पूर्ण स्तनपान गराइने शिशुको अनुपात करिब ३७ प्रतिशत रहेकामा अहिले ४७ प्रतिशतभन्दा बढी पुगेको छ। त्यस्तै, दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट ५० प्रतिशत पुगेको छ। डब्ल्युएचओ र युनिसेफका अनुसार यसले मातृ तथा शिशु स्वास्थ्यमा गरिएको लगानी सकारात्मक रूपमा प्रभावकारी भएको देखाउँछ।
यद्यपि, धेरै देशमा स्तनपानसम्बन्धी सेवा अझै पर्याप्त विस्तार हुन नसकेको, नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको तथा न्यून आय भएका, द्वन्द्व प्रभावित र मानवीय संकट झेलिरहेका क्षेत्रमा सेवाको पहुँच कमजोर रहेको दुवै संस्थाले औँल्याएका छन्।
डब्ल्युएचओ र युनिसेफले दक्ष स्तनपान परामर्श सेवा, समुदायमा आधारित सहयोग, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूधको अनियन्त्रित प्रचारप्रसारमाथि प्रभावकारी नियन्त्रणलाई स्तनपान प्रवर्द्धनका मुख्य उपायका रूपमा अघि सारेका छन्।
संस्थाहरूका अनुसार यस्ता कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्न सके प्रत्येक वर्ष विश्वभर करिब ४ लाख शिशु र १ लाख ४० हजार आमाको ज्यान बचाउन सकिन्छ। साथै स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक एक अमेरिकी डलरको लगानीबाट करिब ५९ अमेरिकी डलर बराबरको सामाजिक तथा आर्थिक प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ।
विश्व स्तनपान सप्ताहको अवसरमा डब्ल्युएचओ र युनिसेफले गुणस्तरीय स्तनपान सेवा विस्तार, समुदायस्तरको परामर्श प्रणाली सुदृढीकरण, अन्तर्राष्ट्रिय आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सशुल्क प्रसूति बिदा तथा स्तनपानमैत्री कार्यस्थल सुनिश्चित गर्न सबै देशलाई आग्रह गरेका छन्। साथै गर्भावस्था, प्रसूति र प्रसूतिपछिको स्वास्थ्य सेवासँग स्तनपान प्रवर्द्धनलाई एकीकृत गर्दै प्रत्येक आमा र शिशुले आवश्यक सहयोग पाउने वातावरण निर्माण गर्न सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको डब्ल्युएचओले जनाएको छ।



