

बाँके – बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि बिग्रिएर प्रयोगविहीन रहेका ४४ वटा स्वास्थ्य उपकरण मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोलीले एक साताभित्र उपकरण मर्मत गरेपछि अस्पतालको सेवा प्रवाह थप प्रभावकारी बनेको छ।
अस्पतालका निर्देशक डा. निरज भट्टराईका अनुसार मर्मत गरिएका अधिकांश उपकरण प्रयोगमा ल्याइसकिएको छ। केही उपकरण थप मर्मत आवश्यक भएकाले सिफारिस गरिएको छ भने केही उपकरण विस्तृत परीक्षणका लागि प्राविधिक टोलीले काठमाडौं लगेको उनले बताए। उनका अनुसार उपकरण सञ्चालनमा आएपछि बिरामीलाई सहज रूपमा परीक्षण र उपचार सेवा दिन सकिएको छ।
लामो समयदेखि बिग्रिएका उपकरण मर्मत गर्ने उद्देश्यले साउनको पहिलो सातामा राष्ट्रिय आविष्कार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबीच सम्झौता भएको थियो। त्यसपछि बायोमेडिकल इन्जिनियर उमेश किरातीको नेतृत्वमा पाँच सदस्यीय टोली अस्पताल पुगेर मर्मत कार्य सम्पन्न गरेको हो।
मर्मत गरिएका उपकरणमा दुई वटा एक्स–रे मेसिन, एउटा अल्ट्रासाउन्ड मेसिन, तीन वटा भेन्टिलेटर, एउटा एनेस्थेसिया मेसिन, एउटा किमोथेरापी क्याबिनेट, माइक्रोस्कोप तथा ल्याप्रोस्कोपी टावरलगायतका उपकरण रहेका छन्। यी उपकरण पुनः सञ्चालनमा आएपछि क्यान्सर परीक्षण र उपचार सेवा सहज भएको अस्पतालले जनाएको छ।
इन्जिनियर किरातीका अनुसार ल्याप्रोस्कोपी टावरका केही आवश्यक पार्टपुर्जा नेपालमा उपलब्ध नभएकाले विदेशबाट मगाउनुपर्ने अवस्था छ। यही कारण म्यामोग्राफी मेसिनको मर्मतमा पनि कठिनाइ भएको उनले बताए। थप दुई वटा उपकरण मर्मतका लागि काठमाडौं लगिएको छ।
स्थानीय अगुवा शिवराज श्रेष्ठले लामो समयदेखि प्रयोगविहीन रहेका उपकरण सञ्चालनमा आएपछि सामान्य परीक्षणका लागि पनि बाहिर धाउनुपर्ने बिरामीको बाध्यता हट्ने विश्वास व्यक्त गरे। उनले राष्ट्रिय आविष्कार केन्द्रलाई थप सशक्त बनाउँदै देशभरका अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मत तथा स्वदेशमै नयाँ प्रविधि विकासका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए।



