

ललितपुर – क्यान्सरलाई पराजित गरेर सामान्य जीवनमा फर्किएका व्यक्तिहरूको आत्मविश्वास, साहस र प्रेरणाको कथा प्रस्तुत गर्ने ‘चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो’ आगामी साउन १६ गते आयोजना हुने भएको छ। आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमको व्यवस्थापन श्रीदीप प्रालिले गर्नेछ भने नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र जनमैत्री अस्पताल सहकार्यमा रहेका छन्।
आयोजकका अनुसार यस वर्षको र्याम्प शोमा १०० भन्दा बढी क्यान्सर सर्भाइभर सहभागी हुनेछन्। कार्यक्रममा तीन वर्षका बालबालिकादेखि भर्खरै किमोथेरापी लिएका बिरामीसम्म र्याम्पमा उत्रनेछन्।
कार्यक्रमकी परिकल्पनाकार, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष तथा उपचारका लागि सहयोगी हातहरूकी अध्यक्ष स्वरुपा श्रेष्ठले सन् २०१९ मा पहिलोपटक आयोजना गरिएको र्याम्प शोमा २४ जना सर्भाइभरलाई सहभागी गराउनसमेत निकै कठिन भएको स्मरण गरिन्। अहिले सात वर्षपछि १०० भन्दा बढी सर्भाइभरको सहभागिता हुनु आफूहरूको सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताइन्।
उनका अनुसार क्यान्सरका बिरामीमा आत्मविश्वास बढाउने, उनीहरूलाई समाजसँग जोड्ने र क्यान्सरलाई जित्न सकिन्छ भन्ने सकारात्मक सन्देश फैलाउने उद्देश्यले र्याम्प शोको सुरुआत गरिएको हो।
‘मिसेस नेपाल युनिभर्स २०२६’ डली गुरुङले अघिल्ला संस्करणको तुलनामा यस वर्ष सहभागिता उल्लेखनीय रूपमा बढेको बताइन्। उनले उमेर र उपचारको अवस्थालाई नहेरी विभिन्न पृष्ठभूमिका क्यान्सर सर्भाइभरहरू एउटै मञ्चमा उभिने जानकारी दिइन्।
कार्यक्रमका कोरियोग्राफर तथा फेसन डिजाइनर विशाल गुरुङले आफ्नो दुई दशकभन्दा लामो फेसन यात्रामा यो सबैभन्दा विशेष अनुभव भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले क्यान्सर सर्भाइभरमा आत्मबल र आत्मविश्वास थप्ने विश्वास व्यक्त गरे।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष सशांक शर्माले क्यान्सर सर्भाइभरलाई सिर्जनात्मक गतिविधिमार्फत समाजसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएको बताए।
‘चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो’ ललितपुरको एकान्तकुनास्थित म्याजिस्टिक ग्राण्डमा आयोजना हुनेछ।



