

पर्सा- पर्साको ठोरीमा सञ्चालित भरतपुर आँखा अस्पताल यतिबेला सीमावर्ती भारतीय नागरिकका लागि प्रमुख उपचार केन्द्र बनेको छ। नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गर्दै आएको यस अस्पतालमा सेवा लिने बिरामीमध्ये ९७ प्रतिशत भारतीय नागरिक रहेका छन्।
अस्पताल प्रमुख दिपेश सुवेदीका अनुसार गत आर्थिक वर्षमा कुल १४ हजार ५८१ जनाले उपचार सेवा लिएका थिए। तीमध्ये १४ हजार १८१ जना भारतीय बिरामी रहेका छन्। भारततर्फ नजिकै गुणस्तरीय आँखा उपचार सेवा नहुँदा सीमापारिका नागरिक नेपाल आएर उपचार गराउने गरेका हुन्।
अस्पतालमा गर्मीयाममा दैनिक ४० देखि ४५ जना र जाडोयाममा करिब ८० जना बिरामी उपचारका लागि आउने गर्छन्। जाडोमा नियमित रूपमा र गर्मीमा प्रत्येक बिहीबार मात्रै आँखाको शल्यक्रिया गरिन्छ। गत आर्थिक वर्षमा अस्पतालले ६२४ जनाको शल्यक्रिया गरेको थियो।
गर्मी मौसममा शल्यक्रियापछि नुहाउन नहुने र संक्रमणको जोखिम बढी हुने भन्ने गलत धारणा फैलिएकाले सो समयमा बिरामीको चाप केही घट्ने गरेको अस्पतालले जनाएको छ।
नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाका सचिव केशव अधिकारीका अनुसार भारतका सीमावर्ती क्षेत्र मात्र होइन, करिब १०० किलोमिटर टाढासम्मका बिरामी पनि उपचारका लागि ठोरी पुग्ने गरेका छन्। भारततर्फ नजिकै गुणस्तरीय आँखा अस्पताल नहुँदा दिल्लीलगायतका सहर धाउनुपर्ने बाध्यता रहेका बिरामीका लागि ठोरी सहज विकल्प बनेको उनले बताए।
उनका अनुसार कम शुल्कमा गुणस्तरीय सेवा, छोटो दूरी र सहज पहुँचका कारण भारतीय बिरामीको आकर्षण अस्पतालतर्फ बढ्दो छ। स्थानीय समुदायका लागि स्थापना गरिएको अस्पताल अहिले नेपाल–भारत स्वास्थ्य सहकार्यको सफल उदाहरणका रूपमा विकास भएको छ।
अस्पताललाई अब वातावरणमैत्री ‘ग्रिन अस्पताल’का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। दुई बिघा क्षेत्रफलमा कम्पाउण्ड निर्माण, शल्यक्रियापछि बिरामी र कुरुवाका लागि आवास तथा भान्छा सुविधासहितका पूर्वाधार विस्तारको काम पनि भइरहेको छ।
भरतपुर आँखा अस्पतालको विस्तारित सेवाका रूपमा सञ्चालनमा रहेको यो अस्पतालले सीमावर्ती क्षेत्रमा सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै नेपाल–भारतबीचको स्वास्थ्य सहकार्यलाई थप मजबुत बनाइरहेको छ।



