

धनगढी – चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीविरुद्ध धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाहिर शनिबार विरोध प्रदर्शन गरिएको छ।
केही अटो चालकहरूले ‘गो ब्याक केसी’ लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसपटकको डा. केसीको सत्याग्रहप्रति सुदूरपश्चिमका केही स्थानीयवासी तथा गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले असहमति जनाएका छन्। उनीहरूले गेटामा सञ्चालनको तयारीमा रहेको विश्वविद्यालयको प्रक्रिया अवरुद्ध गर्ने उद्देश्यले डा. केसी अनशनमा बसेको आरोप लगाएका छन्।
यता, डा. केसीले भने गेटामा ‘माफिया र तिनका मतियारहरूको स्वार्थ पूरा गर्न हतारमा शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय ऐन ल्याइएको’ आरोप लगाएका छन्।
उनको धारणा अनुसार नयाँ मेडिकल विश्वविद्यालय स्थापना गर्नुभन्दा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै मेडिकल विश्वविद्यालयका रूपमा विकास गर्नु उपयुक्त हुनेछ।



