

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्न ११ जना गुनासो सुन्ने अधिकारीसहित ‘गुनासो तथा उजुरी व्यवस्थापन तथा फर्छ्यौट समिति’ गठन गरेको छ।
‘प्रत्येक आवाजको सम्मान, हरेक गुनासोको समाधान’ भन्ने नारासहित गठन गरिएको समितिको प्रमुख गुनासो सुन्ने अधिकारीमा डा. प्रकाश बुढाथोकीलाई जिम्मेवारी दिइएको छ। अस्पतालले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले समिति गठन गरेको जनाएको छ।
समितिअन्तर्गत डा. अनिप जोशी, डा. नरेन्द्र खनाल, डा. राजेन्द्र झा, डा. मनिष बज्राचार्य, डा. सुवज भट्टराई, सिद्धार्थ रञ्जित, सुनिता न्यौपाने, तारा बहादुर कुँवर, पूर्णिमा सिवाल र विद्याभूषण बजगाईंलाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी दिइएको छ।
अस्पताल प्रशासनले सेवाग्राहीका हरेक गुनासा, उजुरी र सुझावलाई गम्भीरतापूर्वक सुन्ने, आवश्यक समाधान खोज्ने र त्यसलाई अस्पतालको सेवा सुधारका लागि महत्त्वपूर्ण पृष्ठपोषणका रूपमा उपयोग गर्ने जनाएको छ। साथै, सेवाग्राहीप्रति उत्तरदायी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समिति सक्रिय रूपमा काम गर्ने अस्पतालले जनाएको छ।



