

काठमाडौं – शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित ‘चिल्ड्रेन असिस्टेन्ट प्रोग्राम’ अन्तर्गत बाल हृदय शल्यक्रियाका लागि उपलब्ध गराइने आर्थिक सहायता रकम बढाएको छ।
केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्रभक्त तिमलाद्वारा जारी सूचनाअनुसार हालसम्म सबै प्रकारका शल्यक्रियाका लागि प्रदान हुँदै आएको प्रतिव्यक्ति अधिकतम २ लाख ५० हजार रुपैयाँ सहायता रकम जटिल शल्यक्रियाका लागि अपुग भएपछि शल्यक्रियाको प्रकृति र जटिलताअनुसार नयाँ सहायता सीमा निर्धारण गरिएको हो।
नयाँ व्यवस्थाअनुसार एएसडी, भीएसडी, पीडीए, क्लोज्ड हार्ट सर्जरी तथा सोसरहका शल्यक्रियाका लागि अधिकतम २ लाख ५० हजार रुपैयाँ सहायता उपलब्ध हुनेछ।
त्यस्तै टीओएफ, एभीएसडी, बिडिसिपिएस, सीओए लगायतका शल्यक्रियाका लागि अधिकतम ४ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहायता प्रदान गरिनेछ।
यस्तै, अत्यन्त जटिल बाल हृदय शल्यक्रियाका लागि भने अब अधिकतम ६ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइने केन्द्रले जनाएको छ।




