

काठमाडौं- वर्षायाम सुरु भएसँगै जङ्गलमा उम्रिने विषालु च्याउको जोखिम बढ्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई जङ्गली च्याउ सेवन नगर्न आग्रह गरेको छ।
मन्त्रालयले वर्षाको समयमा विभिन्न स्थानमा उम्रिने च्याउ खाँदा विषाक्तता हुने, गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जान सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो।
मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थापालियाले जारी गरेको सचेतनामूलक सन्देशमा जङ्गलमा उम्रिने सबै च्याउ खानयोग्य नहुने उल्लेख गरिएको छ।
विषालु च्याउ सेवन गरेपछि बान्ता, पखाला, पेट दुख्ने जस्ता समस्या देखिन सक्ने र त्यसले कलेजो तथा मिर्गौलामा गम्भीर असर पुर्याउन सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विषालु च्याउमा रहेको विष पकाउँदा पनि पूर्ण रूपमा नष्ट हुँदैन। सामान्य व्यक्तिले हेरेर मात्रै विषालु र खानयोग्य च्याउ छुट्याउन कठिन हुने भएकाले जङ्गलमा उम्रिएका च्याउ नखान विशेष आग्रह गरिएको छ।
स्वास्थ्य मन्त्रालयले च्याउ सेवन गरेपछि असामान्य लक्षण देखिएमा घरेलु उपचारमा समय नखर्ची तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ।



