

काठमाडौं- निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जारी गरेको सूचनामा वर्षायाममा दूषित पानी र खानाका कारण झाडापखाला तथा हैजाको जोखिम बढ्ने भएकाले सुरक्षित खानेपानी र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।
मन्त्रालयले पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन, नियमित रूपमा साबुनपानीले हात धुन, बासी तथा सडेगलेका खाद्य पदार्थ सेवन नगर्न, खाना छोपेर राख्न र काँचो फलफूल तथा तरकारी राम्रोसँग सफा गरेर मात्र खान सुझाव दिएको छ।
त्यस्तै, खुला दिसापिसाब नगर्न र शौचालयको अनिवार्य प्रयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
यसैगरी, एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट बच्न घर तथा कार्यस्थल वरपर पानी जम्न नदिन, झ्यालढोकामा लामखुट्टे रोक्ने जाली प्रयोग गर्न, सुत्दा झुलको प्रयोग गर्न र शरीर ढाक्ने लुगा लगाउन सुझाव दिइएको छ।
मन्त्रालयले खानेपानी तथा खाद्यान्न वितरणसँग सम्बन्धित निकाय र व्यवसायीलाई पनि पानी तथा खाद्य पदार्थको स्वच्छता कायम राख्न र आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।



