

कञ्चनपुर- महाकाली प्रादेशिक अस्पतालमा पहिलो पटक मेरुदण्ड (स्पाइन) को सफल शल्यक्रिया गरिएको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश जोशीका अनुसार भीमदत्त नगरपालिका–३, तिलकपुरका ३२ वर्षीय मुनी बोहोराको सफल शल्यक्रिया गरिएको हो। घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्डको हड्डी भाँचिएपछि उनी गत सोमबार अस्पतालमा भर्ना भएका थिए।
डा. जोशीका अनुसार शल्यक्रियापछि बोहोरा सात दिनमै स्वास्थ्य लाभ गरेर घर फर्किएका छन्। उनको शल्यक्रिया डा. दुर्गेश चौधरी, डा. अनिल तिमिल्सिना, डा. मुकेश गामीलगायतको विशेषज्ञ टोलीले गरेको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद पन्तले विगतमा मेरुदण्डको शल्यक्रियाका लागि बिरामीलाई काठमाडौं वा भारतका अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अब यस्तो सेवा महाकाली प्रादेशिक अस्पतालमै उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवा विस्तार गर्दै लगेको र जटिल प्रकृतिका उपचार पनि स्थानीय स्तरमै सम्भव हुन थालेको उल्लेख गरे। उनका अनुसार अस्पतालमा बिरामीलाई भर्नादेखि डिस्चार्जसम्म सहज सेवा उपलब्ध गराउने लक्ष्यका साथ सेवा सुधारलाई निरन्तरता दिइएको छ।
हाल महाकाली प्रादेशिक अस्पतालमा दैनिक करिब एक हजार नौ सय बिरामी उपचारका लागि आउने गरेका छन्। विशेषज्ञ चिकित्सकको संख्या बढेसँगै अस्पतालले ओपिडी सेवासँगै विभिन्न विशेष उपचार सेवासमेत विस्तार गरेको जनाएको छ।



