

काठमाडौं — सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेपछि गम्भीर अवस्थामा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ र अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ।
मण्डललाई शुक्रबार साँझ हेलिकप्टरमार्फत काठमाडौं ल्याएर करिब साढे ७ बजे कीर्तिपुर बर्न अस्पताल भर्ना गरिएको थियो। हाल उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ।
अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार विवेकको अवस्था गम्भीर रहेकाले शनिबार शल्यक्रिया गर्ने तयारी गरिएको छ। उपचार टोलीले उनको अवस्थालाई निरन्तर निगरानीमा राखेको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार विवेकले शुक्रबार आफ्नै घरबाट करिब २०० मिटर टाढा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
यसअघि बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएको थियो। त्यस्तै शनिबार काठमाडौंको बुद्धनगर क्षेत्रमा पनि आत्मदाहको अर्को घटना भएको प्रहरीले जनाएको छ।


