

काठमाडौं – नेपालमा डेंगु, औंलो, स्क्रब टाइफस, जापानीज इन्सेफ्लाइटिस, कालाजार, हात्तीपाइले र चिकनगुनियाजस्ता कीटजन्य रोगको जोखिम बढिरहेका बेला यस्ता रोगको वैज्ञानिक पहिचान र नियन्त्रण गर्ने दक्ष इन्टोमोलोजिस्ट (कीट विशेषज्ञ) को चरम अभाव देखिएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार देशभर सरकारी सेवामा इन्टोमोलोजिस्टका लागि जम्मा दुईवटा मात्रै स्वीकृत दरबन्दी रहेका छन्। जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण कीटजन्य रोग पहाडी तथा हिमाली जिल्लासम्म फैलिँदै गए पनि आवश्यक जनशक्ति नहुँदा रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार विगतमा प्रत्येक जिल्लामा औलो निरीक्षक रहने व्यवस्था भए पनि हाल नयाँ दरबन्दी सिर्जना नगरिएकाले अनुभवी जनशक्ति अवकाशपछि रिक्त स्थान पूर्ति हुन सकेको छैन।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. भीमप्रसाद सापकोटाले नेपालका विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टोमोलोजी विषयको अध्ययन–अध्यापन नहुँदा दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताए। उनका अनुसार सरकारी प्रणालीमा दरबन्दी अभावका कारण यस विषयमा अध्ययन गरेका व्यक्तिसमेत अन्य क्षेत्रमा काम गर्न बाध्य छन्।
विशेषज्ञको अभाव पूर्ति गर्न केन्द्रले स्वास्थ्यकर्मीलाई तालिम दिँदै आएको जनाएको छ। यस वर्ष तीन चरणमा ३० जना अहेव, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टलाई कीट पहिचान, जीवनचक्र अध्ययन तथा रोग नियन्त्रणसम्बन्धी तालिम दिइएको छ।
डा. सापकोटाका अनुसार इन्टोमोलोजिस्टले रोग सार्ने कीटको पहिचान, लार्भा र नमुना संकलन, प्रयोगशाला परीक्षण, उपयुक्त विषादी वा जैविक नियन्त्रण विधि छनोट तथा प्रकोप नियन्त्रणमा वैज्ञानिक भूमिका निर्वाह गर्छन्।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले विश्वविद्यालयसँग सहकार्य गरी कीट विशेषज्ञ उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउँदै वर्षायाममा बढ्ने रोग नियन्त्रणका लागि औषधि, सामग्री र र्यापिड रेस्पोन्स टोली तयारी अवस्थामा रहेको बताए।


