

डडेल्धुरा – प्राविधिक समस्याका कारण लामो समयदेखि अवरुद्ध रहेको डडेल्धुरा अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै सिटी स्क्यान मेसिनमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको जनाएको हो। अस्पतालले आवश्यक स्वास्थ्य परीक्षण गराउनुपर्ने सेवाग्राहीलाई अस्पतालमै उपलब्ध सिटी स्क्यान सेवा उपयोग गर्न अनुरोध गरेको छ।
सिटी स्क्यान सेवा बन्द रहँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीहरू परीक्षणका लागि तराईका विभिन्न जिल्लामा जान बाध्य भएका थिए। यसले बिरामी र आफन्तलाई थप आर्थिक तथा समयको भार व्यहोर्नुपरेको थियो।
सेवा पुनः सञ्चालनमा आएपछि पहाडी क्षेत्रका बिरामीलाई सहजता हुने तथा आवश्यक परीक्षणका लागि बाहिर धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार अब सिटी स्क्यानसम्बन्धी सम्पूर्ण सेवा नियमित रूपमा उपलब्ध हुनेछ।


