

विराटनगर – नेपालको नर्सिङ शिक्षाको क्षेत्रमा नयाँ अध्याय थप्दै बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक भौतिक पूर्वाधारसहितको नर्सिङ विभाग उद्घाटन गरेको छ।
कलेजको पाँचौँ तल्लामा १९ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त नर्सिङ विभागको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले गरेका हुन्।
कलेजका अनुसार नर्सिङ विभागमा आधारभूत नर्सिङ सीप प्रयोगशाला, प्रसूति तथा धाइआमा नर्सिङ सीप प्रयोगशाला, बाल स्वास्थ्य सीप प्रयोगशाला, सामुदायिक स्वास्थ्य नर्सिङ प्रयोगशाला तथा पोषण तथा आहारविज्ञान प्रयोगशालालगायतका अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरिएको छ। साथै आधुनिक कक्षाकोठा र अध्ययन–अध्यापनका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरिएको छ।

विभागमा अध्ययन गर्ने विद्यार्थीहरूले शल्यक्रिया कक्ष, नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), प्रसूति कक्ष तथा सघन उपचार कक्ष (आईसीयू) को वास्तविक वातावरणमा आधारित अभ्यास गर्ने अवसर पाउनेछन्। यसका साथै क्लिनिकल सीप, अभ्यासमा आधारित शिक्षण, नर्सिङ प्रक्रिया, सघन उपचार अभ्यास, सामुदायिक स्वास्थ्य सेवा तथा डिजिटल सिकाइ स्रोतमार्फत व्यावहारिक ज्ञान हासिल गर्न सक्ने व्यवस्था गरिएको छ।
कलेजले यस विभागमार्फत विद्यार्थीहरूलाई वास्तविक बिरामीको उपचारमा संलग्न हुनुअघि नै आवश्यक सीप, दक्षता र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने जनाएको छ। यसले नर्सिङ शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै अस्पताल सेवाको प्रभावकारिता बढाउन समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले आगामी दिनमा नर्सिङ विभागलाई थप आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।


