

नेपालगञ्ज – औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले प्रत्यक्ष सूर्यको किरण पर्ने स्थानमा औषधि भण्डारण गर्ने फार्मेसी तथा औषधि पसललाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
शाखा कार्यालयले सूचना जारी गर्दै औषधि विक्रिवितरण संहिता, २०८० अनुसार औषधि सञ्चय गर्ने स्थानमा प्रत्यक्ष घाम नपर्ने तथा अत्यधिक तापबाट सुरक्षित रहने व्यवस्था अनिवार्य गरिएको जनाएको छ।
कार्यालयका अनुसार हालै केही खुद्रा तथा थोक औषधि पसलको स्थलगत निरीक्षणका क्रममा औषधि भण्डारण गरिएका स्थानमा प्रत्यक्ष सूर्यको किरण परेको भेटिएको छ। यस्तो अवस्थामा राखिएका औषधिको गुणस्तरमा जोखिम उत्पन्न हुन सक्ने भएकाले त्यस्ता औषधि बरामद गर्ने गरिएको विभागले जनाएको छ।
सूचनामा आगामी दिनमा पनि गैरजिम्मेवारीपूर्ण ढंगले प्रत्यक्ष घाम पर्ने स्थानमा औषधि सञ्चय गरेको पाइएमा सम्बन्धित औषधि बरामद गरिनुका साथै गुणस्तर परीक्षणका लागि विभागमा पठाइने उल्लेख छ।
गुणस्तर परीक्षणपछि औषधि गुणस्तरहीन प्रमाणित भएमा सम्बन्धित धनी तथा व्यवसायीलाई औषधि ऐन, २०३५ र औषधि विक्रिवितरण संहिता, २०८० बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
विभागले औषधि जस्तो संवेदनशील वस्तुको गुणस्तर कायम राख्न न्यूनतम मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गर्दै कानुनमा उल्लेखित व्यवस्था अनुसार फार्मेसीको संरचना सुधार गर्न निर्देशन दिएको छ।


