

काठमाडौं- पशु सेवा विभागले मुलुकका विभिन्न भागमा फैलिएको बर्ड फ्लु नियन्त्रणका लागि उच्च सतर्कतासहित काम भइरहेको जनाएको छ। विभागका अनुसार पछिल्लो तीन महिनामा देखिएको संक्रमण हालसम्म ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको छ।
विभागले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार गत चैत ४ गते मोरङबाट सुरु भएको बर्ड फ्लु संक्रमण क्रमशः झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ उपत्यकाका तीनै जिल्ला तथा काभ्रेपलाञ्चोकसम्म फैलिएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएका छन्। त्यस्तै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र करिब १ लाख ९५ हजार ४८५ किलो दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको छ।
विभागका अनुसार कोशी प्रदेशमा देखिएको बर्ड फ्लुको प्रकोप भने हाल नियन्त्रणमा आइसकेको छ। संक्रमण नियन्त्रणपछि कोशी प्रदेशमा एक महिनासम्म लगाइएको पन्छी ओसारपसार प्रतिबन्ध पनि क्रमशः खुकुलो बनाइएको जनाइएको छ।
तर पछिल्लो समय काठमाडौँ उपत्यकामा पालिएका पन्छीहरूमा संक्रमण पुनः देखिन थालेको र त्यसले थप जोखिम बढाएको विभागको मूल्यांकन छ।
महानिर्देशक दाहालका अनुसार रोग नियन्त्रणका लागि उपमहानिर्देशकको नेतृत्वमा ‘बर्ड फ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरिएको छ।
विभागले संक्रमण फैलिन नदिन नियमित अनुगमन, संक्रमित क्षेत्र पहिचान र नष्ट गर्ने कार्यलाई तीव्र बनाइएको जनाएको छ।


