

चितवन – भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको छ। सेवा बन्द भएपछि अस्पतालले बिरामीलाई निजी अस्पतालमार्फत सिटी स्क्यान गराउने व्यवस्था मिलाएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्व बगालेका अनुसार बिरामीले भरतपुर अस्पतालमै बिलिङ गरेपछि अस्पतालकै गाडीमार्फत निजी अस्पताल लगेर सिटी स्क्यान गराइने र पुनः अस्पताल फर्काइने व्यवस्था गरिएको छ।
उनका अनुसार स्वास्थ्य बीमाअन्तर्गतका बिरामीको शुल्क बीमामार्फत नै व्यवस्थापन गरिनेछ भने अन्य बिरामीले अस्पतालमै आवश्यक शुल्क तिर्नुपर्नेछ।
अस्पतालले निजी अस्पतालसँग समन्वय गरेर सरकारी दररेटमै सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ। निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीका अनुसार भरतपुरका पाँच निजी अस्पतालले आलोपालो रूपमा सिटी स्क्यान सेवा दिनेछन्।
गत बुधबारदेखि सिटी स्क्यान सेवा बन्द भएको हो। मेसिन मर्मतका लागि आवश्यक सामग्री विदेशबाट मगाउनुपर्ने भएकाले सेवा पुनः सञ्चालन हुन कम्तीमा १० दिन लाग्ने अस्पतालले जनाएको छ।
दैनिक करिब तीन हजार बिरामी आउने भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा बिरामीहरू प्रभावित भएका छन्। अस्पताल प्रशासनले सेवा निरन्तरता दिन वैकल्पिक व्यवस्था गरिएको जनाएको छ।


