

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा विशेष अदालतबाट सफाइ पाएपछि पुनः मन्त्रालय फर्किएकी छन्।
म्यामोग्राफी मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि डा. मिश्रा सोमबारदेखि मन्त्रालयमा उपस्थित भएर नियमित हाजिरी सुरु गरेकी हुन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले डा. मिश्राले आजदेखि मन्त्रालयमा हाजिरी गरेको पुष्टि गरे।
विशेष अदालतले सोमबार उक्त मुद्दामा फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. मिश्रासहित आठ जनालाई आरोपबाट सफाइ दिएको थियो।
सफाइ पाउने अन्य व्यक्तिहरूमा विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाल रहेका छन्।
अदालतको फैसलासँगै डा. मिश्रा पुनः मन्त्रालयको नियमित कार्यसम्पादनमा फर्किएकी हुन्।


