

काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक पुरुषको रेबिज सङ्क्रमणका कारण मृत्यु भएको छ।
केही साताअघि कुकुरले टोकेपछि उनले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको छ। त्यसपछि रेबिजको सङ्क्रमण देखिएसँगै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।
उपचारका लागि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो। अस्पतालमा उपचाररत अवस्थामा शनिबार उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार ती पुरुषले कुकुरले टोकेलगत्तै आवश्यक खोप नलगाएकाले पछि रेबिजको सङ्क्रमण विकसित भएको थियो।
‘उहाँले पहिलो टोकाइपछि रेबिजविरुद्धको भ्याक्सिन लगाउनुभएको रहेनछ। रेबिजको लक्षण देखिएपछि मात्रै अस्पताल आउनुभएको थियो,’ अधिकारीले भने, ‘उहाँको शनिबार मृत्यु भएको हो।’
स्वास्थ्यकर्मीहरूले कुकुर वा अन्य जनावरले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउन आग्रह गर्दै आएका छन्। रेबिजको लक्षण देखिन थालेपछि उपचार प्रभावकारी नहुने भएकाले समयमै खोप लगाउनु नै ज्यान बचाउने मुख्य उपाय मानिन्छ।


