

काठमाडौँ – निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै उक्त पदका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो।
मन्त्रालयका अनुसार कार्यकारी निर्देशक नियुक्ति निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ तथा विनियमावली, २०७७ बमोजिम गरिनेछ। इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ।
सूचनाअनुसार आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै सोही क्षेत्रमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको पदमा न्यूनतम १५ वर्ष काम गरेको अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ।
आवेदनका साथ शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, कार्यअनुभवसम्बन्धी कागजात तथा अस्पताल विकाससम्बन्धी बढीमा पाँच हजार शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) समेत पेश गर्नुपर्नेछ।
सरकारी वा सार्वजनिक संस्थामा कार्यरत स्थायी कर्मचारीले भने आवेदन दिँदा सम्बन्धित निकायको विभागीय स्वीकृतिपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ। आवेदन शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ।
मन्त्रालयका अनुसार प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारहरूको प्रारम्भिक अल्पसूची (सर्टलिस्ट) तयार गरिनेछ। त्यसपछि सिफारिस समितिले शैक्षिक योग्यता, कार्यअनुभव, तालिम, प्रकाशित अनुसन्धानमूलक लेख, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन, प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा अन्तिम छनोट प्रक्रिया अघि बढाउनेछ।
हाल निजामती कर्मचारी अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. रवि प्रकाश शर्माले सम्हालिरहेका छन्।


