

काठमाडौं- नेपालमा पहिलोपटक सन् २००४ (वि.सं. २०६१) मा चितवनबाट देखिएको डेंगु संक्रमण अहिले देशव्यापी स्वास्थ्य चुनौतीका रूपमा स्थापित भएको छ। हरेक वर्ष मनसुन सुरु भएसँगै संक्रमण बढ्ने क्रम दोहोरिन थालेपछि विज्ञहरूले डेंगुलाई अब ‘मौसमी प्रकोप’का रूपमा लिनुपर्ने बताएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार डेंगु अब आकस्मिक रूपमा देखिने रोग मात्र नभई नेपालमा नियमित रूपमा दोहोरिने मौसमी समस्या बनिसकेको छ। उनका अनुसार असार महिनादेखि संक्रमण बढ्न सुरु हुने, साउन–भदौमा तीव्र रूपमा फैलिने र असोज–कात्तिकमा चरम अवस्थामा पुग्ने प्रवृत्ति देखिएको छ।
विगतका वर्षहरूमा पनि यही अवधिमा अस्पताल तथा स्थानीय तहमा डेंगुका बिरामीको चाप उल्लेख्य रूपमा बढ्ने गरेको थियो। यस वर्ष पनि मनसुन सक्रिय भएसँगै स्वास्थ्य संस्थाहरूले निगरानी र तयारीलाई तीव्र बनाएका छन्। विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण लामो समयसम्म वर्षा हुनु, तापक्रम वृद्धि हुनु तथा पानी जम्ने क्षेत्र बढ्नुले डेंगु फैलाउने एडिस जातिको लामखुट्टेका लागि अनुकूल वातावरण सिर्जना गरिरहेको छ।
नेपालमा डेंगुको इतिहासमा सन् २०२२ सबैभन्दा भयावह वर्षका रूपमा दर्ज छ। त्यस वर्ष ७७ वटै जिल्लामा संक्रमण फैलिँदा ५४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका थिए भने ८८ जनाको मृत्यु भएको थियो। त्यसपछि संक्रमण केही घटे पनि जोखिम भने कायमै रहेको विज्ञहरूको भनाइ छ।
डेंगु संक्रमित भएपछि अचानक उच्च ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, आँखाको पछाडिपट्टि पीडा हुने, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा रातो बिमिरा देखिने तथा अत्यधिक थकान महसुस हुने लक्षण देखिन सक्छन्। अधिकांश बिरामी केही दिनमै निको हुने भए पनि केहीमा गम्भीर डेंगु विकसित हुन सक्छ, जसले रक्तश्राव, रक्तचापमा गिरावट तथा शरीरका महत्वपूर्ण अंगहरूमा असर पुर्याउन सक्छ। यस्तो अवस्थामा तत्काल अस्पतालमा उपचार आवश्यक हुने चिकित्सकहरू बताउँछन्।
डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यक्ष रूपमा सर्दैन। संक्रमित व्यक्तिलाई टोकेको एडिस लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा मात्र संक्रमण फैलिने गर्छ।
नेपालमा डेंगुको लागि विशेष औषधि उपलब्ध छैन। समयमै रोग पहिचान, पर्याप्त तरल पदार्थ सेवन तथा जटिल अवस्थाको उचित व्यवस्थापन नै उपचारका मुख्य आधार हुन्। त्यसैले प्राथमिक स्वास्थ्य केन्द्रदेखि ठूला अस्पतालसम्म आवश्यक जनशक्ति, परीक्षण सामग्री र उपचार प्रोटोकलको तयारी सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालमा डेंगु संक्रमणको चक्र प्रत्येक दुईदेखि तीन वर्षमा तीव्र हुने प्रवृत्ति देखिएको छ। सन् २०१९ मा काठमाडौं उपत्यकामा संक्रमण व्यापक बनेको थियो भने सन् २०२३ मा धरान केन्द्रित प्रकोप देखिएको थियो। सन् २०२४ र २०२५ मा धरान तथा काठमाडौंमा संक्रमणको प्रभाव बढी रहेको उनले बताए।
डा. पुनका अनुसार विगतको प्रवृत्ति हेर्दा सन् २०२६ मा पनि डेंगु संक्रमण पुनः तीव्र रूपमा फैलिन सक्ने सम्भावना छ। विश्वव्यापी रूपमा यस्ता संक्रमण तीनदेखि पाँच वर्षको अन्तरालमा बढ्ने देखिएको उल्लेख गर्दै उनले नेपालमा डेंगु कुनै पनि समयमा ठूलो प्रकोपका रूपमा देखिन सक्ने चेतावनी दिए।
स्वास्थ्य विज्ञहरूले घर, विद्यालय, कार्यालय तथा सार्वजनिक स्थान वरिपरि पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिने तथा ज्वरो आएमा समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्। उनीहरूका अनुसार डेंगु नियन्त्रणका लागि उपचारभन्दा पनि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो।


