

काठमाडौं – राम जानकी हेल्थ फाउन्डेसन तथा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट उनलाई पक्राउ गरेको हो।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई उच्च अदालत पाटनको अनुमति लिएर पक्राउ गरिएको हो। अदालतले गत मंसिर २८ गते नै उनको पक्राउका लागि अनुमति दिएको थियो।
पाण्डे त्रिभुवन विश्वविद्यालयअन्तर्गत सन् २००३ मा स्थापना भएको जानकी मेडिकल कलेजका अध्यक्ष हुन्। उक्त शिक्षण संस्था राम जानकी हेल्थ फाउन्डेसनले सञ्चालन गर्दै आएको छ।
सीआईबीका अनुसार अनुसन्धानका क्रममा पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्स प्रालि’ नामक कृत्रिम कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक मूल्यांकन गराएर बैंकबाट कर्जा लिएको देखिएको छ।
प्रहरीले प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्यत्र खर्च गरिएको तथा पटक–पटक कर्जाको दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। उक्त घटनामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


