
दोलखा – नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको पाँचौँ वार्षिक साधारण सभा २०८३ जेठ १५ र १६ गते दोलखाको चरिकोटस्थित होटल एम्ब्रोसियामा सम्पन्न भएको छ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, महासचिव श्रीधर खनाल, कोषाध्यक्ष सम्राटमान जोशी, केन्द्रीय सदस्य बद्रीप्रसाद खनाल तथा केन्द्रीय सदस्य (महिला) कपिला जोशीलगायतको सहभागिता रहेको थियो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष खण्डेलवालले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै यसले बागमती प्रदेशभरिका औषधि व्यवसायीबीच आपसी एकता, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
उनले औषधि व्यवसाय क्षेत्रमा देखिएका समसामयिक चुनौतीहरूको सामूहिक रूपमा समाधान खोज्न तथा उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्ने दिशामा सभा महत्त्वपूर्ण हुने बताए।
साधारण सभामा औषधि व्यवसायसँग सम्बन्धित विभिन्न समसामयिक विषय, व्यवसायिक समस्या, नियामकीय व्यवस्था तथा सेवा प्रवाह सुधारका उपायबारे समेत छलफल गरिएको आयोजकले जनाएको छ।


