
चितवन – ३४औँ अन्तर्राष्ट्रिय मिडवाइफ दिवसको अवसरमा भरतपुर अस्पतालको मातृत्व वार्डका मिडवाइफहरूले एएनसीदेखि पीएनसीसम्मको सेवाको निरन्तरताबारे विशेष प्रदर्शनी आयोजना गरेका छन् ।
मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारमा मिडवाइफ सेवाको महत्त्व उजागर गर्ने उद्देश्यले मङ्गलवार उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले जानकारी दिए । उक्त कार्यक्रमले गर्भावस्थादेखि सुत्केरीपछिको हेरचाहसम्मका सेवाहरूको जानकारी प्रदान गरेको थियो । कार्यक्रममा गर्भवती जाँच , सुरक्षित सुत्केरी तथा सुत्केरीपछिको जाँच सम्बन्धी सचेतनामूलक सामग्री प्रदर्शन गरिएको उनले बताए ।

उनका अनुसार, प्रदर्शनीमार्फत समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्यकर्मीहरूलाई समेत सो बारे जानकारी दिनु मुख्य लक्ष्य रहेको छ । कार्यक्रमले सेवाग्राही र स्वास्थ्यकर्मीबीच सहकार्य बढाउँदै मातृ तथा शिशु मृत्युदर घटाउन सहयोग पुग्ने प्रमेसु डा. बगालेले अपेक्षा व्यक्त गरे ।

उक्त कार्यक्रममा सर्वसाधारण र स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकले यस्ता गतिविधिले मिडवाइफ सेवाप्रतिको विश्वास अभिवृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उनको विश्वास छ ।





![भरतपुर अस्पतालमा गर्भावस्थादेखि सुत्केरीपछिको हेरचाहबारे प्रदर्शनी [फोटोफिचर]](https://swasthyadiary.com/wp-content/uploads/2026/05/1-1024x573.jpg)