

काठमाडौँ- सरकारले मुलुकलाई क्षयरोगमुक्त बनाउन स्थानीय तहमा अभियान सञ्चालन गरेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले मुलुकलाई क्षयरोगमुक्त बनाउन पहिलो चरणमा १४९ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।
सरकारले सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने र सन् २०५० सम्म मुलुकमा क्षयरोग निवारण गर्ने लक्ष्य राखेको छ । सन् २०५० मा १० लाखमा एक जना क्षयरोगका बिरामी झार्ने लक्ष्य रहेको केन्द्रका निर्देशक डा पौडेलले जानकारी दिए । उनका अनुसार सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा झार्ने लक्ष्य रहेको छ ।
केन्द्रका निर्देशक पौडेलले आगामी आर्थिक वर्षदेखि ५ सय ७३ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । अभियानअन्तर्गत स्थानीय तहमा रहेका क्षयरोगका बिरामीलाई खोजतलास गरेर उपचारको दायरामा ल्याइने उहाँले बताउनुभयो । नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेका छन् । तीमध्ये करिब ४० प्रतिशत बिरामी उपचारको दायराभन्दा बाहिर छन् ।
उनका अनुसार क्षयरोगका कारण ५१ प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार व्यहार्नुपरेको छ । नेपालमा हरेक बर्ष १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको छ । जसको मृत्यु दर प्रति एक लाखमा ५३ रहेको छ ।
क्षयरोग पत्ता लगाउन एआइ एक्सरे
क्षयरोग पत्ता लगाउन केन्द्रले एआई एक्सरे प्रविधि प्रयोग गरेको छ । उक्त एक्सरे मेसिनले छातिको एक्सरे गरेर क्षयरोग लाग्ने सम्भावना के छ भनेर पत्ता लगाउने गरेको केन्द्रका निर्देशक पौडेलले जानकारी दिए ।
“क्षयरोग पत्ता लगाउन बिरामीको खकार जाँच गर्नुपर्ने हुन्छ । हरेक बिरामीको खकार जाँच गर्न असम्भव हुन्छ”, उनले भने, “तर एआइ एक्सरे मेसिनले परीक्षण गर्दा शङ्कास्पद बिरामी पत्ता लाग्छ र ती शङ्कास्पद बिरामीको खकार परीक्षण गरे क्षयरोग लागे नलागेको थाहा हुन्छ ।” अहिले सात प्रदेशमा एक वटा दरले केन्द्रमा दुई वटा एआइ एक्सरे मेसिन रहेका छन् ।
नेपालमा करिब ६ देखि ८ प्रतिशत मानिसमा दम
नेपालमा करिब ६ देखि ८ प्रतिशत मानिस दमबाट प्रभावित हुने गरेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा निर्देशक डा अनुज भट्टचनले विश्व दम दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा करिब ६ देखि ८ प्रतिशत मानिस दमबाट प्रभावित भएको बताए ।
उनका अनुसार नेपालमा तीव्र सहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमीय तथा जलवायु परिवर्तनका प्रभावका कारण दमको जोखिम निरन्तर बढ्दो क्रममा छ । दमले बालबालिका, किशोरकिशोरी, वयस्क तथा वृद्धसहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब २६ देखि ३० करोड मानिस दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ । दमले शारीरिक गतिविधिमा सीमितता आउने, निद्रामा समस्या हुने र निरन्तर थकान महसुस हुने जस्ता समस्या देखा पर्छन् ।
महाशाखाका निर्देशक भट्टचनका अनुसार दमले मानसिक स्वास्थ्यमा असर पार्दै तनाव, डर र चिन्ता बढाउन सक्छ, जसले समग्र जीवनको गुणस्तर घटाउँछ । दमले बालबालिकाको शारीरिक विकास, शैक्षिक उपलब्धि तथा सामाजिक गतिविधिमा प्रत्यक्ष रूपमा बाधा पुर्याउने गर्दछ । दम अझै कम पहिचान हुने भएकाले धेरै बिरामीले पर्याप्त उपचार नपाउने गरेको उनको भनाइ छ ।
विश्व दम दिवस मङ्गलबार ‘दम भएका सबैलाई एन्टी–ईन्फलामेटरी इनहलेरमा पहुँच–अहिलेको प्रमुख आवश्यकता’ नाराका साथ मनाइँदै छ ।


