
सुर्खेत- सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको छतमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड तयार भएसँगै दुर्गम क्षेत्रबाट आउने गम्भीर बिरामीको उद्धार र उपचार थप छिटो र सहज हुने अपेक्षा गरिएको छ ।
नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वाटर सुर्खेतको समन्वयमा शुक्रबार हेलिप्याडको प्राविधिक परीक्षण तथा परीक्षण उडान सम्पन्न गरिएको हो । अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीका अनुसार आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हेलिप्याड निर्माण गरिएको हो, जसले गम्भीर अवस्थाका बिरामीलाई तत्काल उद्धार गरी समयमै उपचार उपलब्ध गराउन सहयोग पुर्याउनेछ । निर्माण कम्पनीबाट औपचारिक हस्तान्तरण भएपछि हेलिप्याड पूर्ण रूपमा सञ्चालनमा ल्याइने उनले जानकारी दिइन् ।
यसअघि हेलिकोप्टरमार्फत ल्याइएका बिरामीलाई सुर्खेत विमानस्थलमा अवतरण गराएर एम्बुलेन्समार्फत अस्पताल पुर्याउनुपर्ने बाध्यता थियो । अब भने अस्पतालमै सीधा अवतरण गर्न सकिने भएपछि समय र जोखिम दुवै घट्ने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेश अस्पतालमा विशेषगरी दुर्गम हिमाली जिल्लाबाट सुत्केरी तथा गर्भवती महिलाहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरी ल्याउने गरिन्छ । औसतमा मासिक चारदेखि पाँच जनासम्म यस्ता उद्धार हुने गरेको अस्पतालले जनाएको छ ।
यसैबीच अस्पतालमा सेवाग्राहीको चाप पनि बढ्दै गएको छ । सूचना अधिकारी ज्ञवालीका अनुसार हप्ताका कार्यदिवसमा ओपिडीमा बिरामीको भीड उल्लेख्य रूपमा बढिरहेको छ । सार्वजनिक बिदाको दिन आइतबारसमेत सेवा निरन्तर दिइँदै आएको छ ।
अस्पतालले दैनिक करिब दुई हजार सेवाग्राहीलाई सेवा दिइरहेको जनाएको छ । बहिरङ्ग तथा अन्तरङ्ग सेवा, फार्मेसी, आकस्मिक कक्ष, शल्यक्रिया, प्रयोगशाला, प्रसूति सेवा, एक्सरे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्सरेजस्ता सेवा नियमित रूपमा सञ्चालनमा छन् ।



