
काठमाडौं – ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित देशभर विश्व खोप सप्ताह मनाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म विशेष सचेतना अभियान सञ्चालन गर्दै बालबालिकाको खोप सुनिश्चित गर्न जोड दिएको हो।
मन्त्रालयका अनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका घातक रोगविरुद्धका खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ। देशभरका स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवा विस्तार गर्दै सरकारले पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
खोप कार्यक्रमले बालमृत्युदर घटाउन र संक्रामक रोगको जोखिम न्यून गर्न महत्त्वपूर्ण भूमिका खेलेको मन्त्रालयको भनाइ छ। अभियान अवधिमा अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै खोप लगाउन आग्रह गरिएको छ।
साथै, खोप सुरक्षित र प्रभावकारी भएको सन्देश प्रवाह गर्दै भ्रम र हिचकिचाहट हटाउन स्वास्थ्यकर्मी र सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेको मन्त्रालयले उल्लेख गरेको छ।
मन्त्रालयले पूर्ण खोप सुनिश्चित गर्नु स्वस्थ र सुरक्षित भविष्यका लागि अपरिहार्य भएको जनाउँदै अभियानमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।



