

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी डा. सुनील शर्माले स्वास्थ्य सेवा सबै नागरिकका लागि समान र पहुँचयोग्य बनाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार दुर्गा प्रसाईँलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवा सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
डा. शर्माले संविधानले दिएको स्वास्थ्य अधिकार सबै नागरिकले समान रूपमा पाउनुपर्ने उल्लेख गर्दै वर्तमान स्वास्थ्य सेवामा विभेद देखिएको टिप्पणी गरे । “स्वास्थ्य सेवामा धनी–गरिब भन्ने हुँदैन । तर सरकार वा सरकार निकट व्यक्तिहरूले सञ्चालन गरेका अस्पतालमै सेवा असमान देखिन्छ,” उनले भने, “किड्नीका बिरामीलाई औषधि खरिदमै सहजीकरण गरिनुपर्छ ।”
उनले निजी क्षेत्रबाटै निःशुल्क मिर्गौला र लिभर प्रत्यारोपण सेवा सञ्चालन गर्न आफूहरू तयार रहेको बताए । गरिबका पक्षमा काम गर्दा विभिन्न अवरोध सामना गर्नुपरेको अनुभव सुनाउँदै उनले वर्तमान दुईतिहाइ सरकारलाई सबैका लागि समान लागू हुने स्वास्थ्य नीति ल्याउन आग्रह गरे ।
आफ्नो नेतृत्वमा सञ्चालित अस्पतालमा ट्रान्सप्लान्ट सेवा देशकै उत्कृष्ट ‘टप फाइभ’भित्र पर्ने दाबी गर्दै उनले हालसम्म ७२ वटा प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।
डा. शर्माले वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने, गरिबको जीवनस्तर सुधार गर्नुपर्ने तथा सडक र विकास निर्माणका काम प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए ।
त्यसैगरी, उनले गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्दै यदि कुनै ‘मालप्राक्टिस’ भएको भए सत्यतथ्य बाहिर आउनुपर्ने बताए ।


