
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको भनिएको आईभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) सम्बन्धी चिकित्सा शिविर रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।
काउन्सिलले प्रमुख जिल्ला अधिकारीमार्फत पठाएको पत्रमा सामाजिक सञ्जाल र प्रचार सामग्रीमार्फत १६ अप्रिलमा होटल याक एन्ड यतिमा आईभीएफ परामर्श सेवा सञ्चालन हुने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
काउन्सिलका रजिष्ट्रार डा. सतीश देवका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२० र प्रचलित नियमावली २०२४ अनुसार नेपालमा कुनै पनि चिकित्सा सेवा, परामर्श शिविर वा उपचार कार्यक्रम सञ्चालन गर्नुअघि काउन्सिलमा दर्ता तथा पूर्व स्वीकृति लिनु अनिवार्य हुन्छ ।
तर, प्रचार सामग्रीको अध्ययनपछि सम्बन्धित चिकित्सक वा संस्थाले आवश्यक दर्ता तथा स्वीकृति नलिएको पाइएको काउन्सिलले जनाएको छ । अनुमतिविना यस्ता कार्यक्रम सञ्चालन गर्नु कानूनविपरीत हुने र जनस्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने चेतावनी पनि दिइएको छ ।
पत्रमा उक्त शिविर तत्काल रोक्का गर्न, आवश्यक छानबिन अघि बढाउन र कानुनी प्रक्रिया अनुसार कारबाही गर्न प्रशासनलाई अनुरोध गरिएको छ । साथै, भविष्यमा यस्ता कार्यक्रम सञ्चालन गर्दा अनिवार्य स्वीकृति लिन सरोकारवालालाई सचेत गराउन पनि आग्रह गरिएको छ ।
उक्त शिविरमा भारतीय चिकित्सक डा. जयदीप मल्होत्रा र नरेन्द्र मल्होत्रालगायत संलग्न रहेको उल्लेख गरिएको छ ।
काउन्सिलका रजिष्ट्रार डा. देवले जनस्वास्थ्यसँग सम्बन्धित संवेदनशील सेवामा कानुनी प्रक्रिया अनिवार्य रहेको स्पष्ट पारेका छन् ।




