
काठमाडौं- आधुनिक चिकित्सा विज्ञानसँगै प्लास्टिक, रिकन्स्ट्रक्सन र एस्थेटिक सर्जरीप्रति मानिसहरूको आकर्षण दिनप्रतिदिन बढ्दो छ । दुर्घटना, क्यान्सर वा जन्मजात समस्या सुधार्नदेखि लिएर सुन्दर देखिने चाहनासम्मका कारणले यस्तो सर्जरीप्रति चासो बढेको हो ।
बीएण्डबी अस्पतालका प्लास्टिक, रिकन्स्ट्रक्सन तथा एस्थेटिक सर्जरी विभाग प्रमुख डाक्टर कृष्ण मानन्धरका अनुसार रिकन्स्ट्रक्सन सर्जरी मुख्यतः दुर्घटना, चोटपटक, ट्युमर वा क्यान्सरका कारण बिग्रिएको अंग वा संरचना पुनः निर्माण गर्न गरिन्छ । यसले बिरामीको शारीरिक कार्यक्षमता मात्रै होइन, जीवनस्तर सुधार्न पनि महत्वपूर्ण भूमिका खेल्छ ।
उता एस्थेटिक (कस्मेटिक) सर्जरी भने सौन्दर्यसँग जोडिएको हुन्छ । उमेर बढ्दै जाँदा पुनः जवानजस्तै देखिन चाहने प्रवृत्ति अहिले निकै बढेको डा. मानन्धर बताउँछन् । “४५–५० वर्षका मानिसहरू ३० वर्षजस्तो देखिन पाए हुन्थ्यो भन्ने चाहना राख्छन्, अहिले यस्तो सर्जरी निकै प्रचलनमा छ,” उनी भन्छन् ।
सामाजिक सञ्जालले पनि मानिसमा सुन्दर देखिनुपर्ने दबाब र सचेतना दुवै बढाएको छ । विभिन्न प्लेटफर्ममा देखिने ‘परफेक्ट’ अनुहार र शरीरका कारण धेरैले आफूलाई सुधार्न चाहने र त्यसका लागि सर्जरी रोज्ने क्रम बढिरहेको उनी बताउँछन् ।
डा. मानन्धर स्वयं भने पाइलट बन्ने सपना बोकेका थिए । तर आमाको चाहनाअनुसार उनी चिकित्सक बने । “सानैदेखि मासु काटेको हेर्न रुचि थियो, सायद त्यही रुचिले मलाई सर्जन बनायो,” उनी स्मरण गर्छन् ।
प्लास्टिक सर्जरीबारे धेरै भ्रम पनि रहेको उनी बताउँछन् । “कसैले पनि छाला काट्दा दाग नपर्ने भन्ने कुरा सही होइन,” उनी स्पष्ट पार्छन्, “हामी दाग पूर्ण रूपमा हटाउन सक्दैनौं, तर सकेसम्म कम देखिने बनाउने प्रयास गर्छौं ।”
उपचार प्रक्रिया सुरु हुनुअघि बिरामीसँग विस्तृत परामर्श गरिने उनी बताउँछन् । बिरामीलाई के परिवर्तन चाहिएको हो, के कुरामा असन्तुष्टि छ भन्ने बुझेर मात्रै उपचार योजना बनाइन्छ ।
कस्मेटिक सर्जरी धनी वर्गमा मात्र सीमित छैन । निम्न तथा मध्यम वर्गका मानिसहरूले पनि आफ्नो इच्छा र आवश्यकताअनुसार यस्तो सेवा लिइरहेका छन् । यद्यपि, डा. मानन्धरका अनुसार यो आवश्यकता भन्दा बढी ‘इच्छा’सँग जोडिएको विषय हो, तर कतिपय अवस्थामा मानसिक स्वास्थ्य र आत्मविश्वासका लागि आवश्यक पनि बन्न सक्छ ।
सर्जरीपछि रिकभरी समय सर्जरीको प्रकृतिअनुसार फरक–फरक हुन्छ । जटिल शल्यक्रिया भए लामो समय लाग्न सक्छ । तर सफल उपचारपछि बिरामीमा आत्मविश्वास बढ्ने र जीवनप्रति सकारात्मक दृष्टिकोण विकसित हुने चिकित्सकको अनुभव छ ।
डा. मानन्धरले सन् २०१९ मा गरेको एक जटिल शल्यक्रियाको अनुभव सुनाउँछन् । “एक बिरामीको घाँटीमा ठूलो ट्युमर थियो । त्यो निकाल्न ६ घण्टा लाग्यो । त्यसपछि चिउँडो पुनः निर्माण गर्न खुट्टाबाट हड्डी निकालेर जोड्नुपर्यो, जसका लागि १७ घण्टा लागेको थियो,” उनले बताए ।
सर्जरीपछि नियमित फलोअप पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बिरामी पूर्ण रूपमा सन्तुष्ट भएपछि चिकित्सकलाई पनि सन्तोष मिल्ने उनी बताउँछन् । “धेरै बिरामीहरू खुसी भएर उपहार वा खानेकुरा ल्याउनुहुन्छ, त्यो हाम्रो लागि ठूलो उपलब्धि हो,” उनी भन्छन् ।
उनका अनुसार सर्जरीअघि बिरामीलाई आवश्यक सावधानी, जोखिम र प्रक्रियाबारे स्पष्ट जानकारी दिने र काउन्सिलिङ गर्ने गरिन्छ, जसले उपचारलाई सुरक्षित र प्रभावकारी बनाउँछ ।


