
काठमाडौं- हाम्स हस्पिटलले क्यान्सर उपचारमा अत्याधुनिक प्रविधि भित्र्याउँदै ‘कार–टी सेल थेरापी’ सेवा सुरु गरेको छ। हस्पिटलले अंकोलोजी विभागमार्फत विश्वस्तरमा प्रभावकारी मानिएको यो उपचार नेपालमै उपलब्ध गराउन थालेको जनाएको छ।
क्यान्सर उपचारको क्षेत्रमा नयाँ मोडका रूपमा लिइने कार–टी सेल थेरापीलाई ‘लिभिङ ड्रग’ पनि भनिन्छ। यस प्रविधिमा बिरामीकै शरीरबाट ‘टी–सेल’ निकालेर प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गरिन्छ र क्यान्सर कोषिका नष्ट गर्ने क्षमता वृद्धि गरी पुनः शरीरमै प्रवाह गरिन्छ।
हाम्सका अनुसार यो उपचार पद्धति विशेषगरी रगतसम्बन्धी क्यान्सर (ल्युकेमिया र लिम्फोमा) का बिरामीमा प्रभावकारी मानिन्छ, विशेषतः अन्य उपचार विधि (किमोथेरापी वा रेडियोथेरापी) प्रभावकारी नभएका अवस्थामा।
हस्पिटलले यो सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला तथा ‘बीएमटी’ (Bone Marrow Transplant) युनिटको व्यवस्था गरेको जनाएको छ। साथै, अनुभवी हेमेटो-अंकोलोजिस्ट, इम्युनोलोजिस्ट र तालिमप्राप्त नर्सिङ टोली परिचालन गरिएको छ।
यो उपचारको मुख्य विशेषता भनेको बिरामीकै प्रतिरक्षा प्रणाली प्रयोग गरेर व्यक्तिगत रूपमा उपचार तयार पारिनु हो, जसले उपचारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नेपालमा क्यान्सर बिरामीहरूको संख्या बढ्दै जाँदा उन्नत उपचारका लागि विदेश जानुपर्ने बाध्यता रहेको अवस्थामा यस्तो सेवा स्वदेशमै सुरु हुनु महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले नेपाली बिरामीलाई सुलभ र तुलनात्मक रूपमा कम खर्चमा अन्तर्राष्ट्रियस्तरको उपचार पाउने अवसर दिने विश्वास गरिएको छ।
हाम्स हस्पिटलले विश्वस्तरीय स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउने लक्ष्यअनुसार यो सेवा सुरु गरिएको उल्लेख गर्दै यसलाई नेपाली चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भनेको छ।
क्यान्सर उपचारलाई नयाँ दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको कार–टी सेल सेल थेरापीले भविष्यमा उपचारलाई थप प्रभावकारी र सम्भावित रूपमा निको पार्ने दिशामा समेत सहयोग गर्ने विश्वास लिइएको छ।



