
जुम्ला – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको दायरा विस्तार गर्न आवश्यक बजेटको व्यवस्थापन गरिने स्पष्ट पारेकी छन् ।
मंगलबार जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेकी स्वास्थ्यमन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरिन् ।
कठिन भौगोलिक अवस्था र सीमित स्रोतसाधनका बीच पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको उल्लेख गर्दै मन्त्री गौतमले बजेटको अभावका कारण प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र सेवा सुधार रोकिन नहुने धारणा राखिन् ।
कर्णालीको सम्भावना बुझ्न आफू जुम्ला आएको बताउँदै उनले बजेट अभावकै कारण प्रतिष्ठानको चेरेचौर क्षेत्रमा निर्माणाधीन बहुउद्देश्यीय परियोजनाका भवनहरू अझै पूर्णता नपाएको समस्या रहेको स्वीकार गरिन् । एकैपटक अर्बौँ रुपैयाँको बजेट उपलब्ध गराउन कठिन भए पनि वार्षिक बजेटमा प्राथमिकताका साथ व्यवस्था गरिने स्वास्थ्यमन्त्री गौतमले बताइन् ।
उनले स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने दिशामा मन्त्रालय सक्रिय रूपमा लागिरहेको जानकारी दिइन् ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले प्रतिष्ठानबाट प्रदान गरिँदै आएको गुणस्तरीय स्वास्थ्य सेवालाई थप विस्तार गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


