काठमाडौं – सरकारले यस आर्थिक वर्ष ०८२/८३ को पहिलो राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलिदेखि सञ्चालन गर्दै छ ।
सामान्यतया हरेक वर्ष यो अभियान पहिलो चरणमा कात्तिक २ र ३ गते र दोस्रो चरणमा वैशाख ६ र ७ गते सञ्चालन हुने गर्दछ । तर, यस वर्ष तिहार लगायतका चाडपर्व परेकाले पहिलो चरणको मिति परिवर्तन गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दुई दिने यस राष्ट्रिय अभियानमा करिब २७ लाख पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने २४ लाख बालबालिकालाई जुकाको औषधि वितरण गरिने लक्ष्य लिइएको छ ।

त्यस्तै, ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइनेछ । साथै नियमित खोप छुटेका बालबालिकालाई पनि सोही अवसरमा खोप लगाइने महाशाखाले जनाएको छ ।
बालबालिकामा कुपोषण र अन्य स्वास्थ्य जटिलता न्यूनीकरणका उद्देश्यले सरकारले वि.सं. २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि खुवाउने कार्यक्रम भने वि.सं. २०५६ सालदेखि सुरु गरिएको हो ।








