राजविराज- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा तीन जनाको मृत्यु भएको छ। स्वास्थ्यकर्मीहरूले हैजाको संक्रमण फैलिएको आशंका गरेका छन्।
गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार, आइतबार साँझसम्म झाडापखालाका ९ बिरामीको दिसाको नमुना संकलन गरी र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो। तीमध्ये ३ जनामा हैजा (कोलेरा भिब्रिओ कोलरी) पोजिटिभ देखिएको छ।

आरडीटीमा पोजिटिभ देखिएका बिरामीहरूका नमुना थप पुष्टि गर्नका लागि प्रादेशिक ल्याब जनकपुर पठाइएको उनले जानकारी दिए। पोजिटिभ देखिएका व्यक्तिहरू क्रमशः सुरज सदाका ३ वर्षीय छोरा मनीष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदा हुन्।
‘तीनै जनालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि ल्याइएको छ,’ अध्यक्ष चौधरीले भने।
गाउँपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई साबुन, नेल कटर र सेनिटाइजर वितरण गरेको छ। साथै, सदा टोलका विद्यालयहरू अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ। तर, केही स्थानीयले अझै जनचेतनाको अभावमा दिसाको नमुना दिन नमानेको अध्यक्ष चौधरीले बताएका छन्।

झाडापखालाको समस्या दुई साताअघि सुरु भएको थियो। कार्तिक ६ गते स्थानीय बुचन सदाका १ वर्षीय छोरा संजीव, ११ गते उनका बुबा ६६ वर्षीय लक्ष्मण र १४ गते बुचनकी ४ वर्षीया छोरी राघिनीको मृत्यु भइसकेको छ।
त्यसै टोलकी बुचनकी अर्की छोरी ५ वर्षीया राधिका अझै झाडापखालाले ग्रस्त छिन्। शिवशंकर सदाकी १० वर्षीया छोरी करिना, कृष्णा सदाकी २५ वर्षीया पत्नी लिलमदेवी, छोरीहरू ३ वर्षीया गायत्री र ६ वर्षीया सुगन्धा, ६० वर्षीय बौकु सदालगायत एक दर्जनभन्दा बढी स्थानीय संक्रमित अवस्थामा छन्।
गाउँपालिकाले गत शुक्रबार राति मात्रै सो घटनाको जानकारी पाएको र शनिबार बिहानै औषधि र जीवनजल वितरण गरेको जनाएको छ। आइतबार भने केही बिरामीहरूको स्टुल संकलन गरी आरडीटी परीक्षण गरिएको हो।







