काठमाडौँ- नेपाल चिकित्सक संघले नयाँ कार्यकारिणी समिति चयनका लागि माघ महिनामा हुने निर्वाचनको मिति सार्वजनिक गरेको छ। संघको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मतदान दुई चरणमा सम्पन्न हुनेछ।

निर्वाचन समितिका अनुसार काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते, र काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान गरिनेछ। मतदाताहरूले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मत खसाल्न पाउने छन्।
चुनावको तयारीका लागि डा. प्रणयरत्न शाक्यको नेतृत्वमा प्रमुख निर्वाचन समिति गठन गरिएको छ। समितिमा डा. विवेक राजभण्डारी, डा. अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याल निर्वाचन अधिकृतका रूपमा रहने छन्। आवश्यक परे थप निर्वाचन अधिकृत तोक्ने अधिकार पनि सो समितिलाई दिइएको छ।

निर्वाचन समितिले कार्यतालिका अनुसार मंसिर २५ गते मतदाताको पहिलो नामावली सार्वजनिक गर्ने र पुस २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम तय गरेको छ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार यसपटक संघको विधानअनुसार १९ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र ६० जना परिषद सदस्यका लागि निर्वाचन हुने निर्णय गरिएको छ।








