
काठमाडौं- नेपाल नर्सिङ संघ र सरकारले सहमति गरेपछि नर्स आन्दोलन अन्त्य हुने अपेक्षा गरिएको थियो। तर त्यसको उल्टो भयो। शनिबारको सम्झौतापछि आइतबार आन्दोलनरत नर्सहरू झन् आक्रोशित बनेका छन्। उनीहरूले “अधुरा सम्झौताले नर्सहरूको संघर्षमाथि धोका दिएको” आरोप लगाउँदै संघकै कार्यालय घेरेर विरोध प्रदर्शन गरेका छन्।
संघको कार्यालयमा प्रदर्शनपछि आन्दोलनरत नर्सका प्रतिनिधि र संघका पदाधिकारीबीच आकस्मिक छलफल भएको थियो। त्यसपछि संघले आन्दोलनरत पक्षकै माग मान्दै ४८ घण्टाभित्र माग सम्बोधन नभए देशव्यापी रुपमा नर्सिङ सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

संघका महासचिव देवका कुमारी आचार्यले आइतबार राति विज्ञप्ति जारी गर्दै सरकारलाई अन्तिम अल्टिमेटम दिएकी छन्। विज्ञप्तिमा भनिएको छ, “सरकारी सरह पारिश्रमिक सुनिश्चित गर्नेबारे सहमति भए पनि बाँकी माग अधुरै छन्, त्यसैले आन्दोलन जारी रहन्छ।”
संघले स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूलाई कुनै दबाब, धम्की वा त्रास नदिन सम्बन्धित निकायहरूलाई सचेत गराएको छ। साथै बिरामीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै संघले स्पष्ट चेतावनी दिएको छ।








