सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहरी टोलमा झाडापखाला (डायरिया) फैलिँदा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले अहिले घर–घरमा पुगेर संक्रमित र जोखिममा रहेका व्यक्तिहरूको अवस्था बुझ्दै पखालाको नमुना सङ्कलन गरिरहेको छ ।

कोचाबखारी स्वास्थ्य चौकी लोखरमका प्रमुख आलोक रञ्जन झाले पखालाको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाउने कार्य जारी रहेको जानकारी दिए । उनले नमुनाको रिपोर्ट प्राप्त भएपछि रोगको कारण पत्ता लगाई थप उपचार र नियन्त्रणका उपायहरू अघि बढाइने बताए ।

लोखरमको मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एकै परिवारका तीन जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य चौकीका प्रमुख झाले हालसम्म १५ जनाको पखालाको नमुना सङ्कलन गरिएको र स्थानीय बासिन्दालाई स्वच्छ पानी प्रयोग गर्न र खानपिनमा सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिए ।







