काठमाडौं- टोखा नगरपालिका–१ झोरस्थित झोर महाकाल स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। केडीसी जनरल अस्पताल र झोर महाकाल स्वास्थ्य चौकीको संयुक्त आयोजनामा तथा बीएम टिबीपी फाउन्डेशनको सहयोगमा गत बुधबार आयोजना गरिएको उक्त शिविरमा ११२ जनाले आँखा परीक्षण गराएका थिए। तीमध्ये ७७ जना महिला र ३५ जना पुरुष रहेका थिए।

शिविरमा ५६ जनामा प्रेस्बायोपिया (पढ्ने चस्मा चाहिने समस्या), ८ जनामा क्याटर्याक (मोतिबिन्दु), २६ जनामा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर), १० जनामा ड्राइ आइ (आँखा सुक्ने समस्या) र केहीमा प्टेरिजियम, ट्रिकियासिस, स्यूडोफोल्डर र आँखाको एलर्जी जस्ता समस्या देखिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।
शिविरमा ६० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने १० जनाभन्दा बढी बिरामीलाई थप उपचारका लागि रिफर गरिएको बताइएको छ।

कार्यक्रममा अप्टोमेट्रिस्ट पुजा पाण्डित, नेत्र सहायक अमिशा आचार्य र युना राई, साथै जनस्वास्थ्य अधिकृत स्वेच्छा मरासिनी लगायतका स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए। यस्तै कार्यक्रममा वडाध्यक्ष रामेश लामिछाने, स्वास्थ्य चौकी इन्चार्ज पवन यादव, नर्स सरस्वती कार्की, तथा स्वयंसेवक बलराम सापकोटाको सहभागिता रहेको थियो।


शिविर बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो। झोरका स्थानीयवासीहरूले आफ्नै टोलमा आँखा जाँच गर्न पाएकोमा खुसी व्यक्त गर्दै नियमित रूपमा आँखा परीक्षणको आवश्यकता र महत्त्वबारे सचेतना प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
शिविरकै दिन दिउँसो टोलीले “आँखा स्वास्थ्य र मधुमेहजन्य रेटिनोप्याथी” सम्बन्धी जनचेतनामूलक सत्र पनि आयोजना गरेको थियो। उक्त कार्यक्रममा विद्यार्थी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय समुदायका करिब ३० जनाभन्दा बढीको सहभागिता रहेको थियो।








