ललितपुर- स्तन क्यान्सर जितेकाहरूको साहस र धैर्यलाई सम्मान गर्ने तथा रोगसँग अहिले पनि जुधिरहेका व्यक्तिहरूलाई प्रेरणा प्रदान गर्ने उद्देश्यसहित ललितपुरमा ‘शक्ति र संघर्षको यात्राः निदानपछिको जीवन’ नामक कार्यक्रम सम्पन्न भएको छ।
देवीका बन्दना फाउन्डेशनको आयोजना तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर, उपचारका लागि सहयोगी हातहरू नेपाल र नेपाल क्यान्सर सपोर्ट ग्रुपको सहकार्यमा उक्त कार्यक्रम आज नेपाल क्यान्सर अस्पतालको कन्फरेन्स हलमा सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्देश्य स्तन क्यान्सर जितेका व्यक्ति तथा उपचारको क्रममा रहेका बिरामीहरूलाई आत्मबल वृद्धि गर्दै प्रारम्भिक पहिचान, समयमै उपचार तथा मानसिक सशक्तीकरणको महत्वबारे समाजमा सन्देश प्रवाह गर्नु रहेको आयोजकहरूले बताए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा गायिका तथा समाजसेवी मीरा रानाले सहभागिता जनाइन्। त्यस्तै, उपचारका लागि सहयोगी हातहरू नेपालकी अध्यक्ष, नेपाल क्यान्सर अस्पतालकी डाइरेक्टर तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष स्वरुपा श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिइन्।


कार्यक्रममा बोल्दै स्वरुपा श्रेष्ठले नेपालमै क्यान्सर उपचार सेवा विस्तार हुनु देशको महत्वपूर्ण उपलब्धि भएको बताइन्। उनले भनिन्, ‘क्यान्सर अस्पताल धेरै वर्षको मेहेनतपछि स्थापना भएको हो। यसले धेरै नेपाली विदेश जानुपर्ने बाध्यताको अन्त्य गरेको छ। क्यान्सर जितेकाहरूले नेपाल क्यान्सर अस्पताललाई आफ्नो परिवारजस्तै ठानेका छन्। क्यान्सरले मान्छे मर्दैन, क्यान्सरबाट डराउनुपर्दैन।’
उनका अनुसार क्यान्सरबारे गलत धारणालाई तोड्दै, उपचारका क्रममा रहँदा मानसिक साथ र सामाजिक सहयोग सबैभन्दा ठूलो औषधि हुने भएकाले यस्ता अभियान आवश्यक छन्।
आयोजक संस्थाहरूले यस कार्यक्रममार्फत ‘डायग्नोसिसपछि पनि जीवनमा आशा र शक्ति कायम राख्न सकिन्छ’ भन्ने सकारात्मक सन्देश समुदायमा पु¥याउने लक्ष्य राखिएको जानकारी दिए।









