मकवानपुर – मकवानपुरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू समान काम, समान ज्यालाको मागसहित आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलन कार्यक्रमअनुसार उनीहरूले बुधबारदेखि २ घण्टासम्म अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरेका हुन्।
संघको निर्धारणअनुसार बिहान १० बजेदेखि १२ बजेसम्म काम रोकेर विरोध गरिएको हो। यो आन्दोलनको दोस्रो चरण रूपमा अघि बढाइएको संघले जनाएको छ। यसअघि कात्तिक ४ गतेदेखि ११ गतेसम्म नर्सहरूले हेटौंडा अस्पतालसहित जिल्लाभरका स्वास्थ्य संस्थाहरूमा कालो पट्टी बाँधेर सेवा दिएका थिए। मागप्रति सुनुवाइ नभएपछि आन्दोलनलाई थप सशक्त बनाइएको नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले बताइन्।
उनका अनुसार कात्तिक १८ गतेसम्म प्रत्येक बिहान २ घण्टा सेवा बन्द गर्ने कार्यक्रम निरन्तर रहनेछ। आन्दोलन मुख्यतया निजी स्वास्थ्य संस्था र शिक्षण अस्पतालमा कार्यरत नर्सहरूको श्रम शोषण विरुद्ध केन्द्रित रहेको दाहालले बताइन्। निजी क्षेत्रका नर्सहरूले सरकारी सरह न्यूनतम पारिश्रमिक र सेवा–सुविधा पाउनुपर्ने माग गरिएको छ।

सरकारले नर्सहरूको न्यूनतम तलब पाँचौँ तहअनुसार ३४ हजार ७३० रुपैयाँ तोके पनि धेरै निजी संस्थाहरूले अत्यन्त न्यून पारिश्रमिक दिएको दाहालको आरोप छ। १८ गतेसम्म माग सम्बोधन नभए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलको प्रतिवेदनअनुसार आन्दोलनका कार्यक्रम थप कडा बनाइने चेतावनी दिइएको छ।
गत कात्तिक २ गते नै मन्त्रालयले संघद्वारा प्रस्तुत मागसम्बन्धी कार्यदल गठन गरिसकेकाले अबको एक हप्ता मन्त्रालयको ठोस प्रतिक्रिया कुरिएको संघले स्पष्ट पारेको छ।








