
काठमाडाैं- फिजियोथेरापी आजको अवस्थामा केवल चोटपटकपछि गरिने साधारण व्यायाम मात्र होइन, शरीरमा देखिने हड्डी, स्नायु, मांसपेसी, सासप्रश्वास र पेल्भिकफ्लोरसम्बन्धी कमजोरी, पीडा वा असन्तुलनलाई वैज्ञानिक विधिबाट सुधार गर्ने अत्यावश्यक उपचार हो।
आधुनिक जीवनशैली, लामो समय मोबाइल तथा कम्प्युटरमा बस्ने बानी, प्रसूति पछिका शारीरिक परिवर्तन, जेष्ठ नागरिकमा बढ्दो कमजोरी र खेलकुदमा देखिने चोटपटकका कारण फिजियोथेरापीको आवश्यकता दिनदिनै बढिरहेको छ। शरीरमा आएको समस्या औषधिमात्रले होइन, चलायमान राखेर, मांसपेसी तथा स्नायुको सही कार्यक्षमता फर्काइदिएकाले पनि यसको महत्व अझ बढेको हो।
बीएण्डबी अस्पतालकी पेल्भीक फ्लोर फिजियोथेरापिस्ट अस्मु भट्टराई का अनुसार पिसाब, दिशा वा पाठेघरसम्बन्धी समस्या देखिनु पेल्भिक क्षेत्रमा कमजोरी आउनुको मुख्य संकेत हो। शरीरको माथिल्लो र तल्लो भागलाई जोड्ने पेल्भिक क्षेत्रमा समस्या आएमा इलेक्ट्रोथेरापी वा विशेष व्यायाममार्फत सुधार ल्याइन्छ।

उनले भनिन्, “पिराब गर्दा वा दिशा गर्दा वा शारीरिक सम्बन्ध राख्दा आउने समस्या समाधानका लागि पेल्भीकफ्लोर फिजियोथेरापी प्रभावकारी हुन्छ। यसले संवेदनशील क्षेत्रमा कार्यक्षमता तथा नियन्त्रण क्षमता बढाउँछ।”
जेष्ठ नागरिकमा देखिने स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्न फिजियोथेरापी महत्वपूर्ण रहको फिजियोथेरापी विभागका प्रमुख तथा कन्सल्टेन्ट मस्कोलोस्केलेटल तथा स्पोर्ट्स फिजियोथेरापिस्ट डा. धिरज श्रेष्ठ बताउँछन्। उनले भने, “उमेरसँगै मांसपेसी कमजोरी, हड्डीसम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेह र भुल्ने समस्या समेत बढ्दै जान्छ। नेपालमा ८ प्रतिशतभन्दा धेरै जेष्ठ नागरिक छन् र उनीहरूमा चलायमान क्षमतामा ह्रास देखिन्छ। यस्तो अवस्थामा औषधिसँगै शारीरिक व्यायाम अनिवार्य हुन्छ। हप्तामा १५० मिनेट अर्थात् दिनमा ३० मिनेट व्यायाम गर्नुपर्छ। यसमा फिजियोथेरापीले शरीरलाई सक्रिय राख्न महत्वपूर्ण भूमिका खेल्छ।”

खेलकुद क्षेत्रमा पनि फिजियोथेरापीको माग तीव्र हुँदै गएको स्पोर्ट्स फिजियोथेरापिस्ट निजन बज्राचार्य बताउँछन्। उनका अनुसार खेलकुदको क्रममा लाग्ने विभिन्न चोटपटकमा सर्जरी नै गर्नुपर्छ भन्ने होइन। फिजियोथेरापीमार्फत धेरैजसो अवस्थाहरू सुधार गर्न सकिन्छ। उनले भने, “लिगामेन्ट चुडिने, हड्डी भाँचिने वा मांसपेशी स्ट्रेन भएका अवस्था रिहाबिलिटेसनद्वारा ठिक पार्न सकिन्छ। सर्जरी नै अन्तिम विकल्प हो, तर धेरै केसमा फिजियोथेरापीले पर्याप्त राहत दिनसक्छ।”
त्यसैगरी स्पोर्ट्स फिजियोथेरापिस्ट ओमेश्वर डिस्टी ले खेल सुरु गर्नु अघि वॉर्मअप र खेलपछि कूलडाउनलाई अनिवार्य मान्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “खेलका क्रममा मांसपेशी चुडिनु, डिस्लोकेशन र एङ्कल इन्जुरीजस्ता समस्या देखिन्छन्। खेलपछिका सामान्य सावधानी र उपयुक्त फिजियोथेरापीले गम्भीर चोट हुनबाट जोगाउन सक्छ। खेलाडीको फिटनेस टेस्ट गरेर चोटको प्रकृतिअनुसार उपचार योजना बनाइन्छ।”

फिजियोथेरापी शरीरको वर्तमान अवस्था सुधार मात्र होइन, भविष्यमा समस्या नआउने वातावरण बनाउने उपचार हो। सही निदान, सही व्यायाम र सही मार्गदर्शन फिजियोथेरापीको मूल सार हो। लामो समय बस्ने, गलत पोस्टर, तनाव, प्रसूति तथा वृद्धावस्थाका कारण उत्पन्न विभिन्न समस्यामा फिजियोथेरापीले जीवनगुणस्तर सुधार्न मद्दत गर्छ। यसैले, जीवनको हरेक चरणमा शरीर सक्रिय, बलियो र पीडामुक्त राख्न फिजियोथेरापी अत्यावश्यक स्वास्थ्य विज्ञानको रुपमा स्थापित हुँदै गएको छ।


