
-डा. सूचना मरहठ्ठा
उमेर बढेसँगै हाम्रो शरीरमा देखा पर्ने परिवर्तनमध्ये सबैभन्दा छिटो देखिने परिवर्तन छालासम्बन्धी परिवर्तन हो। विशेषगरी ३० वर्ष पार गरेपछि छाला बुढिने गति थप तीव्र हुन्छ। शरीरमा कोल्याजन उत्पादन घट्दै जाँदा अनुहारमा रिङ्कल देखिन थाल्ने, दागधब्बा बढ्ने, छाला खस्रो तथा सुख्खा हुने, चमक हराउने, चाउरी पर्ने जस्ता लक्षण देखापर्छन्। यसैलाई छालाको एजिङ भनिन्छ।
छाला बुढ्यौलीका कारण दुई किसिमका हुन्छन्। पहिलो, भित्री अर्थात् वंशाणुगत र हर्मोनल कारण। समयसँगै शरीरभित्रका हर्मोनमा हुने परिवर्तनले छाला टाटिएको, भरिएको जस्तो देखाउने गुण घट्दै जान्छ। दोस्रो, बाहिरी कारण–जसमा यूभी रेडियसन अर्थात् घामको असर मुख्य हो। धुमपान, प्रदूषण, तनाव, खानपानको कमजोरी तथा अनियमित जीवनशैलीले पनि छाला समयभन्दा अगाडि नै बुढ्याउन सहयोग गर्छन्।
डर्माटोलोजिस्ट डा. सूचना मरहठ्ठाका अनुसार, सही स्किनकेयर तथा जीवनशैलीमा सुधार गरेमा छाला बुढिने प्रक्रिया धेरै हदसम्म ढिल्याउन सकिन्छ।

सबैभन्दा पहिले, नियमीत स्किन–रुटिन आवश्यक छ। दिनमा दुईपटक अनुहार सफा गर्ने, छालाको प्रकारअनुसार सेरामाइडयुक्त मोइश्चराइजर प्रयोग गर्ने, र घाममा निस्कँदा अनिवार्य रूपमा SPF ३० वा सोभन्दा माथिको सनस्क्रिन लगाउने। सनस्क्रिन हरेक तीन–तीन घण्टामा नवीकरण गर्नु जरुरी हुन्छ। बाहिर जाने बेला टोपी, मास्क र सनग्लास लगाउँदा छालालाई हानिकारक किरणबाट जोगाउन सकिन्छ।
एन्टिअेजिङका लागि प्रमाणित केयर–कम्पोनेन्टमध्ये रेटिनोइड्स सबैभन्दा प्रभावकारी मानिन्छ। यसले छालाभित्र कोल्याजन उत्पादन बढाएर रिङ्कल घटाउन सहयोग गर्छ। त्यस्तै, भिटामिन–सीले छालाको चमक तथा समान टोन ल्याउँछ भने नायासिनामाइडले दाग कम गर्दै छालालाई सन्तुलित बनाउँछ। हायलुरोनिक एसिड तथा पेप्टाइड्सले छालालाई भित्रैबाट हाइड्रेट राख्दै भोल्युम बढाउने काम गर्छन्। यी उत्पादन छालाको प्रकृति तथा समस्या अनुसार छालारोग विशेषज्ञको सल्लाहमा प्रयोग गर्नुपर्छ।
स्वस्थ जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण छ। दिनभरमा २–३ लिटर पानी पिउने, एण्टीअक्सिडेन्टयुक्त फलफूल तथा हरियो तरकारी खाने, पर्याप्त ७–८ घण्टा सुत्ने, नियमित योग तथा शारीरिक व्यायाम गर्ने र फेसियल मसाजले रक्तसंचार बढाएर अनुहारलाई ताजगी दिन मद्दत गर्छ। धुमपान तथा मद्यपान त्याग्नु एजिङ रोक्ने ठूलो उपाय हो।
यदि छालामा देखिएको समस्या गहिरो छ वा छिटो सुधार चाहिएको छ भने चिकित्सा विकल्पहरू पनि उपलब्ध छन्। केमिकल पिल, माइक्रोनिडलिङ, लेजर तथा लाइट थेरापी, बाेटाेक्स, फिलर, पीआरपी/पीआरएफ थेरापी, एचआइएफयू तथा रेडियो-फ्रिक्वेन्सी–आधारित टाइटेनिङ जस्ता उपचारले छालालाई पुनर्जीवित बनाउँदै प्राकृतिक रूपमा कोल्याजन उत्पादन बढाउन मद्दत गर्छन्। यी उपचारहरू विशेषज्ञको मूल्यांकनपछि मात्र लिनु उपयुक्त हुन्छ।
उमेर बढ्नु स्वाभाविक प्रक्रिया हो। तर छाला हेरचाहमा ध्यान दिएर बुढ्यौलीलाई धेरै पछाडि धकेल्न सक्छौँ। आत्मविश्वास र स्वास्थ्यपूर्ण जीवनशैली नै असली एन्टिअेजिङ हो।
छाला हाम्रो सौन्दर्य र व्यक्तित्वको पहिलो पहिचान हो। त्यसैले उमेरअनुसार आवश्यक हेरचाह गर्दै सुन्दर रूपमा उमेरसँगै अगाडि बढ्नु नै सचेत जीवनशैलीको परिचय हो।
(मरहठ्ठा डिआइ स्किन हस्पिटलमा कन्सल्टेन्ट डर्माटोलोजिस्टकाे रूपमा कार्यरत छिन्)


