काठमाडौं- ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरीको क्रममा मृत्यु भएकी ३४ वर्षीया मिनाश्री राईका सन्तानको पालनपोषण र शिक्षाको जिम्मा अस्पतालले लिने भएको छ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की राईको सुत्केरीपश्चात अत्यधिक रक्तस्रावका कारण मृत्यु भएपछि आफन्तले अस्पतालमाथि लापरबाही गरेको आरोप लगाउँदै प्रदर्शन र तोडफोड गरेका थिए। सोमबार अस्पताल परिसरमा भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज र अश्रुग्याससमेत प्रयोग गरेको थियो।

घटनापछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भयो। छलफलपछि अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै राईकी नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि सहयोग गर्ने सहमति जनाएको हो। साथै बालबालिकाको भविष्य सुरक्षित गर्न अस्पतालले बीमा सुविधा समेत उपलब्ध गराउने जनाएको छ।
मृतकका दाजु चित्र राईका अनुसार बहिनीले चिकित्सकको सल्लाहअनुसार नियमित जाँच गराउँदै आएकी थिइन् र प्रसूति क्रममा इन्टर्न डाक्टरले असावधानीका कारण ज्यान गुमाएको आरोप लगाएका छन्। सहमति पश्चात् आफन्तले आन्दोलन नगर्ने र शव बुझ्ने निर्णय गरेका छन्।








