
काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेर जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार अवस्थाबारे अवलोकन गरेकी छन्।
अवलोकनका क्रममा उनले उपचाररत घाइतेहरूसँग प्रत्यक्ष भेटेर स्वास्थ्यस्थिति बुझिन्। भेटघाटका क्रममा मन्त्री गौतम निकै भावुक बन्न पुगिन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै आँसु झार्दै उनले भनिन्, “घाइतेहरूलाई हेर्दा साँच्चिकै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । सरकारको विरोध गर्ने वा चुनाव भाँड्ने काम नगर्नुस्, म अनुरोध गर्न चाहन्छु ।”

स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएपछि भोलिपल्टै पहिलो औपचारिक भेटघाटका रुपमा टिचिङ अस्पताल पुगेकी मन्त्री गौतमले घाइतेहरूको उपचारमा कुनै कमी नभएको पाएको बताइन्।
“यहाँ जेन-जी आन्दोलनमा घाइते भएका तीन जना उपचाररत हुनुहुन्छ। ती मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको अवस्थामा प्लास्टिक सर्जरीमार्फत उपचार भइरहेको छ,” मन्त्री गौतमले भनिन्।
उनले अस्पतालमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आवश्यक सहयोग र सहजीकरण सरकारले निरन्तर गर्ने प्रतिबद्धता जनाइन्।


