
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जान लागेका छन्।
भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पतीको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनीहरू सिंगापुर जाने तयारीमा रहेका हुन्। यसअघि नेपालमै उपचार भइरहे पनि पूर्ण रूपमा स्वास्थ्य सुधार नदेखिएपछि विदेशमा उपचार गराउने निर्णय गरिएको हो।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा केही दिनमै सिंगापुर प्रस्थान गर्नेछन्। उनले भने, “उहाँ थप उपचारका लागि सिंगापुर जाने तयारीमा हुनुहुन्छ। शीघ्र नै प्रस्थान गर्नुहुन्छ।”
प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको थियो। स्वास्थ्यमा केही सुधार आएपछि उनी पार्टी बैठकमा समेत उपस्थित भएका थिए र उक्त बैठकमै पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेका थिए।


