
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह तोक्ने निर्देशन जारी गरेपछि निजी मेडिकल तथा डेन्टल कलेजहरूले त्यसप्रति चुनौती प्रस्तुत गरेका छन्। उनीहरूले मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न असम्भव रहेको जनाउँदै सरकारी स्तरको पारिश्रमिक दिन नसक्ने स्पष्ट पारेका छन्।
नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमार्फत भनेका छन्, “नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।”
एशोसिएसनले निजी मेडिकल तथा डेन्टल कलेजहरूको आर्थिक संरचना, लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रूपमा फरक रहेको उल्लेख गर्दै समान पारिश्रमिक लागू गर्न कठिन रहेको जनाएको छ।



