
काठमाडौं – नेपालमा नयाँ कुष्ठरोगका बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा फेला परेका छन्। बिहीबार काठमाडौंमा आयोजित कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा कुष्ठरोगको भार सबैभन्दा धेरै छ। कुल बिरामीमध्ये एक तिहाइभन्दा बढी मधेस प्रदेशमा भेटिएका छन् भने लुम्बिनी प्रदेशमा एक चौथाइभन्दा बढी छन्।
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म देशभर २ हजार ४७२ नयाँ कुष्ठरोगी फेला परेका छन्। तीमध्ये १ हजार ४२ जना महिला र १४ वर्षभन्दा कम उमेरका १३६ जना बालबालिका छन्।
डा. देवकोटाका अनुसार कुष्ठरोग निवारणका लागि प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम हुनुपर्ने मानक छ। हालको तथ्यांकअनुसार राष्ट्रिय स्तरमा प्रकोप दर ०.९२ प्रतिशत रहेको छ, जुन लक्ष्यअनुसार भए पनि जिल्लागत रूपमा अझै चुनौती बाँकी छ।
७७ जिल्लामध्ये १८ जिल्लामा प्रकोप दर १ भन्दा माथि छ भने ४८ जिल्लामा १ भन्दा कम छ। बाँकी ११ जिल्लामा कुनै नयाँ बिरामी फेला परेका छैनन्।
सचिव देवकोटाले सबै पहिचान भएका कुष्ठरोगीहरू उपचारमा रहेको जानकारी दिएका छन्।



